पाल्पा, सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि सुनको भाउले एकपछि अर्को कीर्तिमानी बनाइरहेको छ । यो साता निरन्तर उकालो लागेको सुनको भाउ सोमबार नेपाली बजारमा प्रतितोला एक लाख ५९ हजार दुई सयमा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढेर जाने अनुमान गरिएको छ । तर कतिसम्म बढ्छ भन्ने जवाफ कसैसँग छैन् । दुर्लभ पहेलो धातुको मूल्य विश्व बजारमा यसको मागमा निर्भर हुने गर्छ । किनभने यसको आपूर्ति सीमित छ । निरन्तर मूल्य बढ्दै गएपछि उपभोक्तामा नयाँ गहना किन्ने सामथ्र्य हराउँदै छ । बरु भएका पुराना गहना बेच्ने ग्राहकको भिड लाग्न थालेको देखिएको छ । सुनको मूल्य हत्वै बढेकाले किन्ने ग्राहक भन्दा पनि बेच्ने ग्राहक बढी आउने गरेको सुनचाँदी व्यवसायी कमल विकले बताए । उनले भने ‘सुनको मूल्य बढेसँंगै हाम्रोमा बेच्न आउने ग्राहक बढेका छन् । अरु महिनाको तुलनामा विगतमा चाडपर्वका बेला नयाँ गहना किन्ने ग्राहक बढी हुन्थे तर अहिले मूल्य बढेपछि त नगन्य हिसावमा ग्राहक छन् ।’ अहिले नयाँ गहना बनाउने भन्दा पनि सुन बेच्न आउँने ग्राहक दैनिक आउने गरेको विकको भनाई छ ।
कतिपय ग्राहकहरु अझै बढ्छ अनि बेच्ने भनेर कुरिरहेको समेत उनले बताए । मूल्य बढेसँगै कारोबारमा प्रभाव पारेको अर्का व्यसायी अर्जुन सुनारले बताए । उनले मूल्य उच्च हुनु भन्दा अघिको तुलनामा धेरै ग्राहक विक्री गर्न आउने गरेको जानकारी दिए । दुई वर्ष अघिसम्म कारोबार राम्रै थियो, किन्न आउने ग्राहक पनि दिनमै ४/५ जना आउने गर्दथ्ये तर मूल्य उकालो लागेसँगै कारोबारमा पनि कमी आउनुको साथै बेच्ने ग्राहक बढेको सुनारको भनाई छ । ६ वर्ष पहिले २०७५ चैतमा सुनको मूल्य अधिकतम ६० हजार ६ सय रुपैयाँ थियो । त्यसयताका हरेक वर्ष सुनको मूल्य तीव्र गतिमा बढिरहेको छ । केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने र डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गरेको देखिन्थ्यो । तर अहिले भने दुवैको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । दिनप्रतिदिन सुनको भाउ बढ्दै गएपछि पाल्पामा पनि यसको प्रभाव देखिएको छ ।