पाल्पा, यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सोमबार प्रकाशन गरेको परीषाफल अनुसार पूरक परीक्षामा १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका हुन् ।
२ लाख १० हजार तीन २१ जनाले परीक्षा दिएको थिए । २०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । यसअघि असारमा सार्वजनिक भएको एसइईको नतिजामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । त्यतिखेर ५० प्रतिशतभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।
यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक कार्यालयका अनुसार ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन् । कार्यालयले ८ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् । जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन् । जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन् । त्यस्तै जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५ सय १८ जना छन् ।