पाल्पा, देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै घटनामा ११ जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रौतहट, पाँचथर, सिन्धुली, बाँके, दाङ, सर्लाही, सल्यान, सिराहा, चितवन र मोरङमा भएका छुुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु भएको हो ।
पाल्पाको तिनाउ गाउँपालिका–३ पावरहाउसस्थित तिनाउ खोलाले बगाएर भारतीय नागरिकको ज्यान गएको छ । भारत उत्तर प्रदेश आग्रा घर भएका २६ वर्षीय विशाल कुमार जातवको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो । यस्तै रौतहटको माधवनारायण नगरपालिका–८ बस्ने १८ वर्षीय श्यामलाल सहनीको बागमती खोलामा डुबेर मृत्यु भएको छ । माछा मार्ने क्रममा सोमबार दिउँसो डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा मंगलबार बिहान शव फेला परेको हो । यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ माल्टेनि गाउँ बस्ने ३८ वर्षीया संगिता मगर सोही ठाउँस्थित सडक छेउमा मृत अवस्थामा फेला परेकी छन् । सिन्धुलीको कमलामाई नगरपालिका–८ पुरानो करकरे बस्ने ३३ वर्षीय काजी बिक पनि आफ्नै घर नजिकै धान खेतमा मृत अवस्थामा फेला परेका छन् । यस्तै बाँकेको नरैनापुर गाउँपालिका–६ जमुनी चोकका २२ वर्षीय सुकई यादव सोही ठाउँ बस्ने सदान्नद मौर्यको घर अगाडि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्ली खोला बस्ने ७२ वर्षीय पल बहादुर बुढाथोकी पनि सोही ठाउँस्थित आफ्नै खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बागमती नगरपालिका–२ सुखा हरिवन खोला किनारमा पनि सोही ठाउँ बस्ने ५५ वर्षीय देबी बहादुर कार्कीको मृत अवस्थामा शव फेला परेको छ । उता सल्यान, शारदा नगरपालिका–१३ अत्तरकाँडास्थित घरमा सोही नगरपालिका–१३ बागमारे घर भएकी ६५ वर्षीया पोक्सरी बुढाथोकी पनि मृत अवस्थामा फेला परेकी छन् । यस्तै सिराहाको बरियारपट्टी गाउँपालिका–३ नेपाल भारत बोर्डर सिमास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरूषको पनि मृत अवस्थामा शव फेला परेको छ । चितवनको माडी नगरपालिका–२ चिरौलीस्थित सडक छेउमा सोही नगरपालिका–४ बस्ने ८० वर्षीय देबबहादुर घर्ति मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङको विराटनगर महानगरपालिका–१६ हुलास रोडको बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । सबै घटनाहरुको विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।