पाल्पा, तराईका थारू समुदायका महिलाहरुले मंगलबारदेखि जितिया पर्व मनाइरहेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन तराईका थारुसहित अन्य समुदायका महिलाले पहिलो नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् ।
पहिलो दिन नुहाए खाने दिन, दोस्रो दिन आज ब्रत र भोली समापन गरिदै छ । पर्व सुरु भएसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन् भने माइत आउन नसक्रुनेहरू घरमै जितियाको ब्रत प्रारम्भ गरेका छन् । वर्तालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन् ।
उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।