Shittalpati
मौसममा फेरि बदली, शनिबारसम्म वर्षाको सम्भावना

पाल्पा, केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि आगामी शनिबारसम्म मौसममा बदली रहने भएको हो ।

देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा तथा केही स्थानहरूमा मध्यदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशका धेरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ । साथै बिहिबारदेखि शनिबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ । 

वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न समेत अनुरोध गरेको छ । वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा खाना नदी नाला र खोलहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन पनि सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update