आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक सेप्टेम्बर २६ का दिन यो दिवस मनाउने गरिन्छ । परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै दिवसको मुख्य उद्देश्य हो । विशेषगरी १९४५ को अगस्त ६ मा जापानको हिरोशिमा र नागासाकी शहरमा आणविक बम प्रहार गरी ध्वस्त पारिएपछि सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो बैठकले विश्वलाई परमाणु निषेध बनाउने संकल्प गरेको थियो । तर विश्वका केही विकसित देशहरुले परमाणु हतियारको विकासमा रोक लगाएका छन् । विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए तर त्यसको विभिषिका अझै कायम छ ।
अहिलेको विश्व जगतमा मुख्य चासो र चिन्ताको विषय परमाणु हतियारको सुरक्षा कसरी गर्ने भन्ने रहेको छ । यद्यपी हिरोशिमा र नागासाकीमा परमाणु हतियार प्रयोग भएयता खासै यस्तो हतियार प्रयोग गरिएको छैन । तर विभिन्न देशहरुले परमाणुको परीक्षण गर्न भने छाडेका छैनन् । परमाणु हतियारको परीक्षणले समेत वायुमण्डललाई धेरै नोक्सानी पु¥याइरहेको छ । परीक्षणको नाममा माटो र वातावरणको लागि अत्यन्त हानिकारक रेडियोधर्मीहरु वायुमण्डलमा छाडिसकिएको छ । आणविक बम आफैमा अत्यधिक असरयुक्त हतियार हो । आधुनिक विज्ञानमा यसको विकास हुनु भनेको विनास निम्तिनु हो । किनकी आणविक बमले तत्कालिन रुपमा मात्रै होइन, दिर्घकालिन रुपमा समेत ठूलो असर गर्दछ । विश्वमा परमाणु हतियार सम्पन्न मुलुकको संख्या ९ छ। तीमध्ये अधिकांश एसियाली मुलुक छन् । संयुक्त राष्ट्रसंघमा भिटो अधिकार प्रयोग गर्ने अमेरिका, चीन, रुस, फ्रान्स र बेलायतसहित पाकिस्तान, भारत, इजरायल र उत्तर कोरिया परमाणु शक्तिसम्पन्न राष्ट्र हुन् । सबैभन्दा बढी परमाणु हतियार रुससँग छन् । यसरी यी मूलुकहरुमा परमाणु हतियार हुनु भनेको विश्व अझै पनि असुरक्षित छ भन्ने संकेत हो ।
कुनै पनि शक्तिशाली शासकको झिनो उत्तेजनामा विश्व ध्वस्त हुन सक्ने अवस्था छ । अहिलेको अवस्थामा हतियारको प्रयोग गरेर द्धन्द्धको समाधान खोजिनु हुँदैन । असहमतिका विषयहरु भए बरु वार्ता र सहकार्यको माध्यमबाट समाधान गर्नु पर्छ । यसो गर्न सकियो भने मात्र विश्व शान्त रहने र हरेक वर्ष अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाउनुले सार्थकता प्राप्त गर्ने छ ।