सिद्धार्थ राजमार्ग (बेहलिया देखि पोखरा) को तानसेन नगरपालिका खण्डमा पर्ने यो क्षेत्र तानसेन नगरपालिकाको वडा नं. ७ मा पर्दछ । प्रभास एक सिमसार क्षेत्र (धार्मिक र सांस्कृतिक क्षेत्र) पनि हो । यो राजमार्गको एक आकर्षक स्थान हो । प्रभास क्षेत्र पाल्पाको सदरमुकाम तानसेनबाट ९ कि.मी. दक्षिणमा पर्दछ भने करिब समुद्र सतहदेखी ९०० मी. उचाँईमा रहेको छ । विशेषगरी कमल पोखरीको नामले परिचय पाएको यो क्षेत्रको महत्वलाई धार्मिक, आर्थिक, सांस्कृतिक, पौराणिक, जैविक साथै कृषिका रुपमा हेर्ने गरिन्छ । तर पनि पाल्पाका अन्य तालहरु सत्यवती, सुकेताल जस्ता तालहरुको नाम सुनिएपनि प्रभास कुण्ड (ताल) भने विरलै सुन्न पाइन्छ तर पौराणिक कहानी एवं दस्तावेजहरुमा भने निकै महत्वका साथ उल्लेख गरिएको पाइन्छ । यसर्थ यहाँ प्रभास क्षेत्रको परिचय, सम्भावना र अवसरका विषयमा केन्द्रीत रहेर चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
कमल पोखरी सिमसार क्षेत्र : “प्रभास ताल”एक अनुपम प्राकृतिक भौतिक स्रोत र साधन भएको र विषेश जीव वनस्पतिहरुलाई बासस्थान प्रदान गर्ने महत्वपूर्ण सिमसार क्षेत्र हो । यस क्षेत्रमा जङ्गीलीधार (Oryza rufipogen) र कमल (Nelumbo nucifera) जस्ता लोपोन्मुख वनस्पति रहेका छन् । अध्ययन अनुसन्धानका अनुसार यस क्षेत्रको पानीको मानांकहरुमा पनि परिवर्तन भएको संकेत र निष्कर्षहरु निस्केका छन् । यस सिमसार क्षेत्रले करिब ४५ प्रजातिका वनस्पतिहरुलाई बासस्थान प्रदान गरेको छ । जसमध्ये केही रैथाने वनस्पतीहरु पनि रहेका छन् । यसमा केही माछाका प्रजातिहरु, उभयचरहरु र यसमा आश्रित जलपंक्षीहरु पनि विशेष रहेका छन् । प्राणीहरुको अभिलेखहरु हेर्दा चखेवा, चखेवी, ज·ली हाँस, माटिकोरे, डुबुल्की मार्ने चराहरु साथै माछा र शंखे कीराको प्रजातिहरु यस क्षेत्रमा रहेको पाइन्छ ।
प्रभास क्षेत्र एक पवित्र तीर्थस्थल :
१५ औं शताब्दीदेखिको मणिमुकुन्देश्वर महादेव मन्दिर र बंशोगोपाल मन्दिर अनि सुर्यकुण्डले एउटा सिंगो धार्मिक मान्यता सहितको इतिहास बोकेको मात्र होइन यस क्षेत्रको धार्मिक महत्व एवं सम्बन्धका बारेमा केही दस्तावेजहरु र किम्वदन्तीहरुका अनुसार धार्मिक पर्यटनको प्रवल सम्भावना बोकेको क्षेत्र पनि हो । साथै यहाँ पाइने गरेको जंगली धानको सम्बन्ध लुम्बिनी र तिलौराकोटसँग पनि रहेको विषय पनि खोजीका क्रममा रहेको छ । भारतको अक्षरधामका संस्थापक स्वामीनारायण र प्रभासको सम्बन्ध भएको विषय समेत खोजीका क्रममा रहेको देखिन्छ ।
राणाकालमा श्री ३ बीर शम्सेरको मुकाम प्रभास : तत्कालिन अवस्थामा श्री ३ वीर शम्सेरले पश्चिम नेपालको मुख्य प्रशासनिक क्षेत्र पाल्पाको भ्रमण गरेका बखत पाल्पामा रहेका आफ्ना नाताले भाइ वीरजंग राणा समेत २ जना समान पद जर्नेलमा रहेका कारण प्रभासमा आइ आफ्नो मुकाम कायम गरी सबै प्रशासनिक कार्यहरु सम्पन्न गर्ने गरेको इतिहासले पनि प्रभासको महत्व प्रदर्शन हुन्छ ।
प्रकृतिको बरदान प्राप्त क्षेत्र : ताल किनारमा रहेको एकैजातका चिलौनी जातका रुखहरुको जंगल डाडैभरी रहनु पनि यस क्षेत्रको विशेषता सहितको पहिचान बनाएको छ ।
अन्य महत्वका विषय : करिव १६ रोपनी क्षेत्रफल रहेको प्रभासको आँपको बगैचाको इतिहास पनि लामै रहेको छ । यसका साथै सुन्दरगाउँस्थित दरबारथुम्का (जहाँ सेन राजाहरुले निर्माण गरेको दरबार थियो भनिन्छ, भग्नावशेष अहिले पनि भेटिन्छ) र यसै क्षेत्रबाट नेपालमा योग शिक्षाको अभियान प्रारम्भ भएको थियो । साथै पछिल्लो समयमा स्थापना भएको लुम्बिनी मेडिकल कलेजले सिर्जना गरेको नयाँ अवसरहरुले प्रभासको महत्व र गरिमा बढाएको छ । यहाँ उपलव्ध साधन, श्रोत, अवसर र पुराना मान्यताका अनगिन्ती सम्भावनाहरुको पृष्ठभूमिमा प्रभासले अकल्पनीय सम्भावना बोकेको छ ।
प्रभासले खोजेको एकिकृत विकासका लागि निम्नानुसारका पहल आवश्यक छ ।
१) तानसेन नगरपालिकाको एउटा मात्र अतिमहत्वपूर्ण सिमसार क्षेत्र मात्र नभई आध्यात्मिक र सांस्कृतिक क्षेत्र पनि भएकाले यसलाई आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विशेष सांस्कृतिक क्षेत्र घोषणा गर्नु पर्दछ ।
२) नगरपालिकाको सहयोगमा तत्काल गुरु योजना बनाइनु पर्दछ । गुरु योजना निर्माण गर्दा निम्न पक्षहरुलाई विशेष ध्यान दिन जरुरी छ ।
क) हालको कमल पोखरी क्षेत्र बाहिरको सिमसार नीजि जग्गा धनिहरुको समेत सहमतिमा बाघखोर सम्मको क्षेत्र समेटिनु पर्दछ । तालको विस्तार गर्दा जग्गा धनिहरुलाई हालको उत्पादन अवस्था र पर्यापर्यटनको विकासबाट सिर्जना हुने अवसरबारे विस्तृत जानकारी गराउने र गूरुयोजना निर्माण प्रारम्भ गर्दा सहमतिका साथ बनाउने पहल गरिनु पर्दछ ।
ख) दरबार थुम्कामा भग्नावशेष प्राप्त हुने भए पनि सार्वजनिक जग्गा नभएका कारण सो क्षेत्रमा विशेष प्रकृतिको पार्क (योग पार्क) निर्माण र सो बाट प्राप्त हुने अवसरको बारेमा छलफल गरिनु पर्दछ ।
ग) सुन्दरगाउँ वन चिलाउनेको रुख भएको बन भएकाले यसका बारेमा वन उपभोक्ता समूहसँगको सल्लाहमा यदी हालका रुख हटाइ नयाँ लगाउन मिल्ने भएमा औषधीजन्य र हर्वल प्लान्टहरुको बृक्षारोपणबारे छलफल र अध्ययन जरुरी देखिन्छ ।
घ) कमल पोखरी ताल हाल पर्खालले घेरिएको मात्र हो भन्ने आधारमा मात्र केन्द्रित नरही सिद्धार्थ राजमार्ग देखि झण्डै १ किमी पूर्व तर्फको लम्वाइलाई नै लक्षित गर्ने र सो क्षेत्रमा पर्ने नीजि जग्ग धनीहरु समेतको संलग्नतामा ताल विस्तार गर्ने र सम्वद्ध जग्गा धनीहरुको जग्गाको सामान्य मूल्याकंन गरी ताल किनारमा रहेकाका लागि विशेष लगानी गरी गुरु योजनाले देखाए बमोजिम संरचना निर्माणमा मद्धत गर्ने र ताल निर्माणमा जग्गा पर्ने तर किनारमा जग्गा बाँकी नरहनेका लागि व्यवसाय सञ्चालनका लागि जग्गा उपलव्ध गराउने अवधारणामा केन्द्रित भै योजना निर्माण प्रक्रिया अगाडि बढाउन सके आर्थिक क्रियाकलापबाट दीगो आम्दानी प्राप्त गर्न सक्ने छन् ।
३) प्रभास क्षेत्रका तिनबाट धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदा(महादेव मन्दिर, बंशगोपाल मन्दिर र सूर्य कुण्ड) को सांस्कृतिक महत्व समेटेर नक्सा बनाइ बाटोमा होडि·बोर्ड राख्न जरुरी छ ।
४) यहाँ पाइने गरेको जंगली धानको संरक्षणका लागि तारबार गरी एउटा निश्चित क्षेत्र तोकी प्रारम्भ गरिनु पर्दछ ।
५) आँपको बगैचाको क्षेत्रफल एकिन गरी संरक्षणका साथै आकर्षक फूलबारी बनाउन जरुरी छ ।
६) लुम्बिनी मेडिकल कलेजबाट निस्कने फोहरको व्यवस्थापन गर्न मेडिकल कलेजकै अगुवाइमा आवश्यक प्रबन्ध मिलाउन अब ढीलाई गर्नु हुँदैन ।
७) गुरु योजनाको निर्माण पश्चात सार्वजनिक निजि साझेदारी,नीजि वा सामुदायिक लगानी एवं सहकारीको लगानीका लागि पहल गर्ने सोंच बारे छलफल प्रारम्भ गरिनु पर्दछ ।
८) सिद्धार्थ राजमार्ग विस्तारले मणिमुकुन्देश्वर महादेव मन्दिरलाई समस्यामा पार्ने अवस्था सिर्जना भएमा हालको तालको विचमा महादेव मन्दिर स्थापना गर्ने बारे अहिले देखिनै बहस छलफल र राय संकलन प्रारम्भ गरिनु पर्दछ । उलेख्ति केही महत्वपूर्ण पक्षहरुले प्रभासको दीर्घकालीन विकासका लागि योजना बनाउन मद्धत गर्ने छ । साथै प्रभास सिमसार क्षेत्र र तालको संरक्षण र सम्बद्र्धन गर्न र व्यवस्थापन गर्न सके पाल्पाको पर्यटन पवद्र्धनमा यसले सघाउ पुर्याउन सक्ने प्रष्टै देखिन्छ । अन्त्यमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा वायोडायभरसिटीका हिसावले महत्व राख्ने प्रभासको संरक्षण र सम्वद्र्धनका लागि अब ढीलाई गर्नु हुदैँन् । यसबाट नगरपालिमा एउटा विशिष्ट प्रकृतिको सिमसार, पर्यापर्यटनको उदारणीय क्षेत्र, विशेष महत्वको सांस्कृतिक क्षेत्र र धार्मिक हिसावले महत्वपूर्ण गन्तव्य पनि बन्ने छ ।
साभार : तानपा ७ द्धारा प्रकाशित प्रभास क्षेत्र नामक पुस्तकबाट
(लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)