Shittalpati
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै

पाल्पा, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको हो । राष्ट्रसंघको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २६ का दिन अन्तर्राट्रियस्तरमा दिवस मनाउन थालिएको पाइन्छ । सार्वजनिक जागरूकता बढाउन र परमाणु निःसस्त्रीकरणको सवालमा राष्ट्र संघले गरेका प्रयासको श्रृंखलामा यसलाई एउटा नयाँ आरम्भको रुपमा लिने गरिएको छ ।

परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै दिवसको मुख्य उद्देश्य हो । सन् १९४६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले संसारबाट परमाणु हतियार निर्मूल पार्न संकल्प लिएसँगै सन् १९५९ मा भएको संयुक्त राष्ट्र संघको साधारण सभाले सामान्य र पूर्ण निःशस्त्रीकरणको उद्देश्यलाई समेत पूर्णरुपमा समर्थन गरेको थियो । विशेषगरी विश्व शीतयुद्धको समाप्त भएपछि संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघको तर्फबाट यस किसिमको घातक हतियार नष्ट गरेसँगै विश्वमा आणविक हतियारको संख्या उल्लेखनीय मात्रामा कमी भएको छ । राष्ट्रसंघका अनुसार अहिले पनि विश्वभर करिब १२ हजार पाँच सय १३ आणविक हतियार रहेका छन् । यसैगरी विश्वका करिब आधा जनसंख्या आणविक हतियार भएका मुलुक र हतियार हुने देशको मोर्चासम्बद्ध देशमा बसोबास गर्दछन् । आणविक हतियारका कारण अकल्पनीय धनजनको क्षति हुनबाट जोगाउन र वातावरणसहित पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने मूल उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा आणविक हतियार उन्मूलनका सन्दर्भमा विश्वभर व्यापक प्रचारप्रसारसहित प्रतिबद्धता जनाउने गरिन्छ ।

विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए तर त्यसको विभिषिका अझै कायम छ । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, रुस, बेलायत, भारत, इरान, चीन, जापान, कोरिया लगायतका देशमा अझै पनि परमाणु भट्टीहरु सञ्चालनमा रहेका छन् । यसले परमाणु हतियारको त्रास कायमै छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update