Shittalpati
शाक्यको निधनप्रति विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली

पाल्पा । नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक अभियान्त चकोरमान शाक्यको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाली काँग्रेस र पार्टीका विभिन्न भातृसंस्था र शुभेच्छुक संस्थाहरुले स्व.शाक्यको निवास टक्सार टोलमै पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति, नेपाली काँग्रेस तानसेन नगर समिति, नेपाल प्रेस युनियन पाल्पा शाखा, नेपाल क्षयरोग निवारण संघ लगायतका सघ संस्थाहरुले स्व.शाक्य प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व.शाक्यले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सिो पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली काँग्रेसले जनाएको छ । पार्टी सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाद्वारा हस्ताक्षरित शोक वक्तव्यमा अत्यन्त इमान्दार, निष्ठवान, क्रियाशील व्यक्तित्वको निधनले पार्टी र जिल्लाको सिङ्गो सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।

तानसेन नगरको पार्टी संगठनलाई चलायमान र सुदृढ बनाउन शाक्यको योगदान महत्वपूर्ण रहेको नेपाली काँग्रेस तानसेन नगर समितिका सभापति मधुदयाल सैजुले बताए । राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशील शाक्यले जिल्लाको पत्रकारिता क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको नेपाल प्रेस युनियनका जिल्ला सभापति भरत शर्माले बताए । उनले भने ‘जिल्लाको पत्रकारिता क्षेत्रको विकासका लागि शाक्यले युनियनलाई ५० हजारको अक्षयको स्थापना गरेर प्रशंसनिय कार्यको गरेका छन्, उनको योगदानको सधैँव युनियनले उच्च मूल्याड्ढन गर्नेछ ।’ नेपाल क्षयरोग निवारण संघकी सभापति शोभा शाक्यले स्वास्थ्य क्षेत्रमा स्व.शाक्यले खेलेको भूमिकाको अन्य व्यक्तिहरुले समेत अनुसरण गर्नुपर्ने बताइन् ।

सोही अवसरमा नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे, नेपाली काँग्रेस तानसेन ३ बुध समितिका सभापति पुस्करराज रेग्मी, नेपाल प्रेस युनियनका जिल्ला सचिव रामचन्द्र रायमाझी लगायतले आ–आफ्ना संस्थाले जारी गरेका शोक वक्तव्य वाचन गरेका थिए । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेका नेता कार्यकर्ता, पार्टीका भातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update