Shittalpati
सिद्धबाबा सुरुङमार्ग : दुई बाइपासको ‘ब्रेक थ्रु’

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सकिएको छ । कुल तीन वटा वाइपास मध्ये पहिलो र तेस्रो बाइपासको ‘ब्रेक थ्रु’ निर्माण सकिएको हो ।

भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपासको मुख्य टनेल खनेर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइ भएको तेस्रो बाइपासको सुरुङ छिचोलिएर सकिएको हो । दोस्रो बाइपासको ब्रेक थु्र भने केही समयमै गर्ने गरी काम धमाधम भएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताईन् । दोस्रो बाइपासको लम्बाइ १ सय ६१ मिटर रहेको छ । यसको १ सय २६ मिटर सुरुङ खनेर सकिएको उनको भनाई छ । इन्जिनीयर ज्ञवालीका अनुसार दोस्रो बाइपासको खन्ने काम १५ दिन भित्रमा सकिने छ । तर ब्रेक थु्र हुन भने समय लाग्ने छ । मुख्य सुरुङ नजोडिएसम्म ब्रेक थु्र हुन नसक्ने उनको भनाई छ । डिसेम्वरमा ब्रेक थु्र गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको ज्ञवालीले एनजेडीसँगको कुराकानीमा बताईन । यहाँ १ हजार १ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पछिल्लो केही समय यता कामलाई तिव्रता दिएको छ । सुरुङ ‘ब्लास्ट’ गरेपछि कामले तिव्रता पाएको हो । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो । सोमबारसम्म गरिएको अपडेट अनुसार सुरुङको भौतिक प्रगति २४ दशमलव १७ प्रतिशत र वित्तीय प्रगति २६ दशमलव ४ प्रतिशत सकिएको इन्जिनीयर ज्ञवालीले बताईन् । उनका अनुसार मुख्य सुरुङ ५ सय ८७ दशमलव २२ मिटर लम्बाइ खनिएको छ । अहिले ३ सिफ्टमा २४ सै घण्टा काम भइरहेको छ । ठेकेदार कम्पनीले पनि ‘म्यानपावर’ थपेर काम गरिरहेको आयोजनाले जनाएको छ । सुरुङको दुवैतर्फबाट निर्माण कार्य धमाधम भइरहेको हो । बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकी सम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउन लागिएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०७८ फागुन १ मा ठेक्का पाएको हो । 

गत साउन पहिलो साता झरेको पहिरोले सुरुङमार्गको ‘टनेल पोर्टल’ नै पुरिएपछि तीनमहिना बढी समय रोकिएको थियो । सुरुङमार्ग निमार्णका लागि पटक–पटक सडक बन्द गरेर काम हुँदै आएको छ । निर्माण कार्यको सन् २०२२ मार्च ९ मा ठेक्का सम्झौता भएर २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौता रहेको छ । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका स्थानीयहरू सुरुङमार्गको कामले गति लिएपछि भने वर्षौदेखि सुरुङ बन्ने सपना पुरा हुनेमा ढुक्क भएका छन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याउने गर्दछ । योजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किने छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update