Shittalpati
पर्यटन दिवस र यसको सार्थकता

आज सेप्टेम्बर २७ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथै विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागेका छन् । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको हो । 

विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि यो दिवस मनाइँदै आइए पनि त्यसले  सार्थकता भने प्राप्त गर्न सकेको छैन । पर्यटन दिवस जनचेतना अभिवृद्धि गर्ने पर्यटन क्षेत्रका लागि ठूलो पर्व भए पनि यसलाई ‘इभेन्ट’ का रुपमा लैजान नसक्दा प्रभावकारी हुन नसकेको हो । 

कोभिडका कारण धला परेको पर्यटन क्षेत्र अहिले पनि राम्रोसँग तंग्रीन सकेको छैन । कोरोनाले थिलो –थिलो पारेको पर्यटन व्यवसायीलाई अझ सशक्त ढंगले अगाडि बढाउने अवसरको रुपमा दिवसलाई लिनुपर्दछ । पर्यटन दिवस मनाइरहँदा कम्तिमा तीनै तहका सरकारले पर्यटन क्षेत्रको समस्या र चुनौतिबारे गम्भीरतापूर्वक छलफल गर्ने तथा विगतका कमीकमजोरीलाई दोहोरिन नदिनेतर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । कस्तो प्रकारको पर्यटकले के उद्देश्य राख्छ, उसको आवश्यकता के हो, उसको मन के गर्न रमाउँछ, कसरी एउटै पर्यटकलाई पटकपटक आकर्षित गर्न सकिन्छ भन्ने जस्ता विभिन्न दृष्टिकोणबाट पर्यटन विकास र त्यसको सम्भावनाका लागि अध्ययन हुनुपर्छ । यसले मात्र कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न सहयोग पुग्छ । आयात र भुक्तान सन्तुलनका लागि आवश्यक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन व्यवसायलाई वेवास्ता गर्ने हो भने देशले ठूलो आर्थिक भार व्यहोर्नु पर्ने हुनसक्छ । यसर्थ सम्बन्धित निकायले पर्यटन क्षेत्रमा चहलपहल ल्याउन आवश्यक कदम चाल्न सके मात्र पर्यटन दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update