Shittalpati
आज विश्व पर्यटन दिवस मनाइँदै

पाल्पा, आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटन सम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन् ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ । मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन हो त्यसैले अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ । पर्यटन व्यवसायीहरुले दिवसको अवसरमा हाइकिङ, ट्रेकिङका कार्यक्रमहरु आयोजना गरी मनाउने भएका छन् । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रको सुधार गर्न र आन्तरिक तयारीका साथ पर्यटन प्रवद्र्धन गर्न यो दिवसले महत्वपूर्ण भूमिका खेल्नेमा पर्यटन व्यवसायीहरु विश्वस्त रहेका छन् । नेपालमा गुणस्तरीय पर्यटन प्रर्वद्धनका लागि पर्वतारोहण र पर्वतीय पदयात्रा नै मुख्य हो । यसको थप व्यवस्थापनमा राज्यले समेत जोड दिनु पर्ने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल विशेषगरी साहसिक पर्यटन र धार्मिक पर्यटनका लागि अन्तर्राष्ट्रिय जगतमा प्रख्यात छ । पछिल्लो समयमा पर्यटनमा विविधिकरण र ब्राण्डिङमा नयाँ–नयाँ क्षेत्र पहिचान र विकास भएका छन् ।

प्रदेश सरकारले मनाउँदै लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज ४५ औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाउन लागेको छ । दाङको घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ मनाइन लागेको दिवस सफल पार्न विभिन्न नौ उपसमिति गठन गरी  दिवस मनाउन लागिएको प्रदेश सरकारले जनाएको छ ।  दिवसका अवसरमा प्रदेशका विभिन्न जिल्लाका पहिचान झल्किने लोक सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत हुने छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १० प्रकारका जातीय लोक नृत्य तथा संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गन्दर्भ समुदायको सारङ्गी धून, थारू जातिको बड्का नाच, देउखुरीको थारू जातिको कठघोरी नाच, सखिया नाच, पाल्पाको कौडा नाच, मगरको भुम्या नाच र सरङ्गे (मयूर) नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उत्कृट झाँकी र नृत्यहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाकै सहभागिता रहनेछ । आगन्तुक पर्यटकलाई जिल्लाका पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update