Shittalpati
अझै रोकिएन डेंगु

पाल्पा, डेंगु संक्रमण अझै रोकिएको छैन् । असोज महिनाको दोस्रो हप्ता लागिसक्दा समेत संक्रमण रोकिएको छैन् । संक्रमण रोकिनुको सट्टा देशभर झन् बढ्दै गएको छ । केही समय अघि ७५ जिल्लामा मात्र सिमित रहेको संक्रमण अहिले भने ७६ जिल्लामा फैलिसकेको छ ।

चाडपर्व नजिकिदै जाँदा डेंगु संक्रमण उत्कर्षतिर छ । यसले थप जोखिम बढेको छ । हालसम्म मुलुकभर १२ हजार ६ सय ४४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । पाल्पामा मात्र हालसम्म १ सय ९६ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्याङकमा रहेको छ । यस वर्ष मनसुन लम्बिएको र त्यसपछि पनि पानी परिरहेकाले डेंगु लामखुट्टेको लार्भा हुर्किने वातावरण कायम छ । सोही कारण रोग नियन्त्रणमा नआएको अनुमान छ । संक्रमण बढ्दै गएपछि सरकारले लामखुट्टे खोज तथा नष्ट अभियानका लागि हरेक वर्ष करोडौं रकम विनियोजन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन भएको छ । जिल्लागततर्फ भने ७७ वटै जिल्लामा करिब २ करोड रकम विनियोजन गरिएको छ । तर, संक्रमण घट्नु साटो बढ्दो छ । संघ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष लामखुट्टेको प्रजनन स्थल नष्ट गरिरहेको दाबी गरे पनि प्रभावकारी हुन सकेको छैन । हरेक वर्ष डेंगु संक्रमणबाट सर्वसाधारणको ज्यान गइरहँदा सरकार माथि प्रश्न उठ्ने गरेको छ । पाल्पामा पनि स्थानीय सरकारले स्वास्थ्य कार्यालयसँगको समन्वयमा विभिन्न सचेतना मूलक कार्यक्रम गर्दै आएका छन् । 

तर ति कार्यक्रम प्रभावकारी हुन नसक्दा संक्रमण रोकिन सकेको छैन् । पानी पर्ने र घाम लाग्ने हुँदा अझ बढी लामखुट्टे सक्रिय हुने भएकाले संक्रमण थप बढ्ने सम्भावना रहेको  स्वास्थ्यकर्मीहरु बताउँछन् । अझै केही समय अवस्था जटिल रहेकाले संक्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन उनीहरुले सुझाव समेत दिएका छन् । एडिस एजेप्टाई नामक लामखुट्टेको टोकाइबाट डेंगु रोग सर्छ । यो जातको लामखुट्टेले प्रायजसो बिहान र दिउँसो घाम अस्ताउने समयमा बढी सक्रिय हुन्छ । प्रजननका लागि अनुकूल वातावरणीय अवस्था भएका क्षेत्रहरूमा जोखिमका रूपमा देखा परेको छ । सामान्यतया सफा र जमेको पानीमा प्रजनन गर्न रुचाउँछन् । जुन मानव वासस्थान वरपर सजिलै हुन्छ । एडिस जातको लामखुट्टे बयस्क नहुँदासम्मको करिब ८० प्रतिशत जीवनचक्र (अण्डा, लार्भा र प्युपा) पानी भित्र वा पानीको सतहमा हुन्छ ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न स्वास्थ्यकर्मीले आम नागरिकलाई आग्रह गरेका छन् । त्यस्तै, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न पनि उनीहरुको सुझाव छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update