Shittalpati
वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द 

पाल्पा, अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको केराबारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध छ । सडक विभागले ह्ववीललोडर तथा ब्याकलोडरको प्रयोग गरेर सफा गर्ने काम शुरु गरे पनि अधिक वर्षा र रात भएका कारण शनिबार दिउँसो विहान सम्म सडक सुचारु गर्न सकिने सम्भावना रहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ  ।

यसै गरी तानसेन रिडी, रिडी तम्घास अन्तर्गत लघुवा,जोर्ते, अर्गलीका विभिन्न स्थानमा ढुङ्गा खसेका कारण सडक अवरुद्ध भएका छन । रिडीको रातामाटा, थोर्गा, वलेटक्सार, श्रृंगा, छत्रकोट, गुल्मीदरवार र आसपारका क्षेत्र र खर्ज्याङ्ग, मुसिकोट र रुद्रवेणी वामी र आसपासका ग्रामिण सडक प्रायः सबै अवरुद्ध भएका छन् ।

स्थानीय सरकार, सडक विभाग समेतको पहलमा ठाउँ- ठाउँमा पहिरो सफा गर्ने र सडक सुचारु गर्ने काम समेत भई रहेको छ । यसै गरी अधिका वर्षाका कारण गुल्मी र पाल्पाका विभिन्न स्थानमा विद्युत तथा संन्चार सेवा समेत अवरुद्ध भएका छन् । विद्युत आपुर्तिमा बन्द भएका कारण तानसेनमा खानेपानी वितरण प्रणाली र पम्ममा समेत समस्याहरु देखिएका छन् । रिडी, रानीघाट, पाल्पाको केलादीघाट, वडीघाट, रुद्रवेणी र आसपासका नदी तटिय क्षेत्रमा नदीका वहावले खतराको रेखा पार गरी सकेका छन् । निरन्तरको वर्षाले देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित भएको छ ।

देशका विभिन्न स्थानमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भई रहेको छ, भने पश्चिम नेपालका धेरै जिल्लाको जनजीवन अस्त व्यस्त भएको छ । खराब मौसमका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ । मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update