Shittalpati
पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु  अवरुद्ध 

पाल्पा, विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मी, पाल्पा, अर्घाखाची, प्युठान जिल्ला लगायत देशै भर जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पाले बुटवल–तानसेन ३३ केभि प्रशारण लाईनमा दोभान र वसन्तपुर क्षेत्रमा पोल ढलेर विद्युत अवरुद्ध भएको जनाएको छ । 

      पाल्पा वितरण केन्द्रका अनुसार शुक्रबारदेखि अवरुद्ध विद्युतको समस्या समाधानका लागि शनिबार विहानैदेखि प्राविधिक टोली वसन्तपुर तर्फ लागेको तर अधिक वर्षाका कारण बाटो अवरुद्ध भएपछि झन गाह्रो हुँदै गएको जनाएको छ । वितरण केन्द्रका अनुसार गुल्मी तर्फको लाईन समेतमा समस्या भएको र झुम्सा र आसपासमा विग्रिएको लाईन बनाउन समय लाग्ने देखिएकोले शनिबार साझसम्म विद्युत सुचारु गर्न प्रयास थालिएको बताएको छ । 
 

अर्घाखाची, प्युठान  र गुल्मीमा पनि समस्या : 

अर्घाखाचीका विभिन्न स्थानका सडकहरु अवरुद्ध छन् । गरुसिंगे– सन्धिखर्क, सालझण्डी हुँदै गुल्मी तर्फजाने सडक, पोखराथोक तर्फवाट पाल्पाको रैनादेबी छहरा जाने सडक, सुपादेउराली हुँदै सन्धिखर्क जाने सडक, सन्धिखर्क देखि गुल्मी तम्घास जाने सडक सबै अवरुद्ध छन् । सडक खोल्ने क्रम जारी रहेको त्यहाँका पत्रकार प्रेमनारायण आचार्यले जनाएका छन् । यसै गरी  प्युठानको झुमरुक खोला सतहबाट बाहिरिएका कारण नदी किनारका सबै वस्तिहरु जोखिममा परेका छन् । गुल्मी, अर्घाखांची, प्युठान जिल्ला सदरमुकामहरुमा पनि विद्युत सेवा प्रभावित भएका छन् ।

           गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले, चोरकाटे शान्तिपुर सडक खण्डको रुपाकोट हिराभवन नजिकै पहिरोले सडक अवरुद्ध भएको जानकारी दिएका छन् । अवस्था बुझेर मात्र यात्रा गर्न सबै संग अनुरोध गरेका छन् । यसैबीच नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले विज्ञप्ती र आफ्ना सामाजिक सन्जालहरुबाट यो विपतमा सबैलाई सुरक्षित र सतर्क रहन, जोखिम मोलेर यात्रा नगर्न, विपत आई परे सबै मिलेर सामना गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update