Shittalpati
उच्च सतर्कता अपनाऔं

हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबारसम्म नै मनसुन सक्रिय रहने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम रहेकाले उच्च सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने र कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ । 

जोखिम बढेपछि सरकारले समेत शुक्रबार र शनिबार दुई दिन रात्रि बस नचलाउन भनेको छ । यो निर्णयलाई सबैले स्वागत गर्नु पर्छ । किन भने यस्तो बेलामा सडक, भासिने, माथिबाट ढुंगा खस्ने, पहिरो जाने जस्ता घटनाहरु घट्न सक्दछन् । विहीबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । वर्षाले निम्त्याउन सक्ने प्राकृतिक विपद् र समस्याप्रति अहिले नै सर्तक हुन आवश्यक छ । प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । तर यसतर्फ पूर्व सतर्कता अपनाउन सकियो भने केही हदसम्म बच्न र बचाउन भने सकिन्छ । नेपाल सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका विभिन्न उपायहरू कार्यान्वयन गर्ने जनाए तापनि व्यवहारमा भने लागू हुन सकिरहेको छैन । प्राकृतिक प्रकोपको कुनै समय र सीमा हुँदैन तापनि विश्वमा समय–समयमा आउने भुइँचालो, तुफान, ज्वालामुखी, बाढीपहिरोे, आँधीबेहेरी, अतिवृष्टि, अनावृष्टि र संक्रामक रोगहरूजस्ता प्रकोपहरूबाट बर्सेनि थुप्रैको संख्यामा जनधनको क्षति भएका र लाखौंको संख्यामा घरबारबीहिन र घाइते भएका घटनाहरू घटि नै रहेका छन् । प्राकृतिक प्रकोपले मानव जीवनलाई नै तहसनहस गर्ने गर्छ, जुन प्रकोपहरू आकस्मिक र भयंकर हुने गर्छन् । यसर्थ मनसुन सक्रिय रहेकाले त्यसबाट हुन सक्ने क्षतिका बारेमा पहिले नै उच्च सतर्कता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update