पाल्पा, आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, संगठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य संगठनले यस दिवसलाई समर्थन गरेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।
तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सकहरुको भनाइ छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । रेविज रोग, रेविज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाईबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो । रोगका जिवाणुहरु रोगी पशुको र्यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् । मानिसको शरीरमा रेविजको भाइरस प्रवेश गरेको ३० देखि ६० दिनमा रोग देखा पर्छ । तर कम्तीमा १० दिनमै वा वर्षौंपछि पनि देखा पर्न सक्ने सम्भावना हुने चिकित्सकले बताएका छन् । रेविज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा पशुले टोकेको शंका लागेमा तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।