Shittalpati
कतै भारी वर्षा, कतै बाढीको जोखिम

पाल्पा, देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ । जसका कारण देशका अधिकांस ठाउँमा विहीबारदेखि लगातार भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्का मध्यमदेखि भारी वर्षा भइरहेको छ भने केही नदीहरुमा बाढीको उच्च जोखिम रहेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ । पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको झापामा अति भारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ । इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । 

त्यस्तै त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ । एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । उसले मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । 

यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ । यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छ भने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छ भने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ । 

यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध  गरेको छ । आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । वर्षा निरन्तर भइरहेकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update