Shittalpati
सुमनका सात रङ्ग

अस्मानी, नीलो, हरियो, पहेंलो, रातो, वैजनी र सुन्तला र·गरी सातवटा रङलाई सप्तरंगी इन्द्रेणी भनिन्छ । आकासे नीलोलाई अस्मानी भनिन्छ जसले जीवन अन्तरालको लेखाजोखा गर्दछ । नीलो रङ्ग शान्तिको रङ्ग, हाम्रो झण्डाको किनारको रङ्ग, जसले शान्ति र सुखद् सम्भावनाहरूको खरुोजी गरिरहन्छ । हरियो रङले कलिलो, ताजा, आलो, पूर्वाधार, आजका बालक भोलिका कर्णधार, विज्ञान तथा वातावरण, पर्यवरण भन्ने बुझाउँछ । सुन, पित्तल, सम्पत्ति, धान, मकै, गहुँ आदि पहेला हुन्छन् । वेसार पनि पहेँलो हुन्छ, अर्थात् पहेलो रङ्गले जिन्दगीमा सार खोज्न सिकाउँछ । रक्त, अवीर, सिंदुर, सौभाग्य, वीरता र क्रान्तिको रङ्ग रातो हो । वैजनी रङ्ग रातो र नीलोको मिश्रित रङ्ग हो अर्थात् क्रान्ति र शान्तिको मिलन विन्दु वैजनी पथ हो । जीवन संघर्ष, सफलता र असफलताका कथासहित इतिहासहरू यसै भित्र पर्दछन् । पहेंलो र रातो मिसिएपछि  सुन्तला रङ्ग बन्दछ । सुन्तला पृथ्वीको प्रतिक हो । वेसारे जीवनलाई सारयुक्त बनाऊ, सहमति, सहकार्य र एकता गर भन्ने सन्देश दिन्छ ।

सप्तरङ्गले दिने अर्थबोध गराउनुका साथै सन्देशमूलक, जीवन र जगतमुखी, आदि र अन्त्यसँग सम्बन्धित काव्यहरू “सप्तरंगी सुमन” भित्र संग्रहित रहेका छन् । प्रस्तुत कृतिका लेखक साहित्यकार एवं आगोका परिकल्पनाकार दीर्घबहादुर चन्द हुन् । दीर्घबहादुर चन्दको साहित्यिक उपनाम “सुमन” हो । सुमनको अर्थ पुष्प भन्ने हुन्छ । सप्तरंगी सुमन भन्नाले सात किसिमका थरि थरिका फूलहरू भन्ने हुन्छ । कृतिभित्र यस्तै मखमली, सयपत्री, गुर्दौली, पारिजात, लालुपाते, लालीगुराँस, गुलाब जस्ता फूलहरू रहेका छन् । कृतिभित्र काफिया र रदिफको मिठाससहित धप्प बलेका ३७ वटा गजलहरू रहेका छन् । माया पिरति यौवन रहर र राष्ट्रप्रेम झल्किएका ९ वटा गीतहरू सम्मिलित छन् । यसरी नै ७ वटा सशक्त गद्य कविताहरूले सिञ्चित छन् भने ६ वटा गजव र अजवका मुक्तकहरू रहेका छन् । त्रिपदीय काव्य सुसेलीहरू ३१ वटा रहेका छन् । जुन लोकलयमा आधारित गेयात्मक छन् । लघुतम चतुष्पदीय काव्य शीत ४८ वटा र ६८ वटा आगोहरू संग्रहित रहेका छन् । यसैगरी आगोभित्र पर्ने मुक्तागो १० वटा र गजललागो १० वटाले काव्यिक रस्वादनका लागि कृतिलाई महनीय बनाएको छ । गजल, गीत, कविता, मुक्तक, सुसेली, शीत र आगो गरी सात किसिमका काव्यहरू संग्रहित रहेकाले नै यसको नाम सप्तरंगी सुमन रहन गएको हो । जुन अत्यन्त सान्दर्भिक र अर्थपूर्ण रहेको छ । कृति भित्र कहीं कतै भाषा, व्याकरण र संरचनात्मक त्रुटीहरू पनि रहेका छन्, जसलाई आगामी दिनमा अझ परिस्कार सहित सच्याउन सकिन्छ । सुखशान्ति मिडियाद्वारा प्रकाशित कृति स्वर्गीय पिताजी प्रजातन्त्र सेनानी मदन चन्दप्रति समर्पित रहेको छ । सर्वश्री साहित्यकार डा.शैलेन्दु प्रकाश नेपाल, पूर्वसहायकरथी तेज प्रकाश बानियाँ, सुदर्शन विक्रम राणा, श्यामसुन्दर ढकाल, दुर्गा अधिकारी भमरकोटे र पुष्कर अथक रेग्मी, हर्कबहादुर साहु र दामोदर ढकालले कृतिमाथि शुभकामनासहित प्रकाश पारेका छन् । लेखक सुमनजीले लेखकीयमार्फत साधन कृति प्रकाशन गर्नुको जानकारीसहित कृतज्ञता ज्ञापन गर्नु भएको छ ।

लघुकाव्य उपविधा आगोको परिकल्पनाकारको रूपमा समेत प्रतिष्ठापित साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’को जन्म २४ भाद्र २०२८ मा नेपालको सुदुरपश्चिम मेलौली नगर पालिका, तितावै, बैतडीमा भएको हो र महेन्द्रनगर कञ्चनपुर हुँदै टोखा ४ धापासी काठमाडौंमा बसोबास गर्दै सेवानिवृत राष्ट्रसेवक सैनिक जीवन बिताउँदै आएका साथै जीवनको दैनन्दिनीलाई चलायमान बनाउन र आफूले सैन्य जीवनमा सिकेका ज्ञान सीप र मनोवृतिहरूलाई व्यवहारिक रूपमै प्रयोगमा ल्याउन सुदुर पश्चिमको चर्चित आँखा अस्पताल गेटा कैलालीको प्रमुख प्रशाशकीय पदमा रही कार्य गरिसकेका छन । भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, लेवनान, सेरालियन, गिनी, नर्वे, इटाली, स्विडेन, डेनमार्क, मंगोलिया र चिन लगायतका मुलुकमा भ्रमण गरिसकेका सुमनको काव्यमा विशेषत ः राष्ट्रप्रेम अंकित समय बोलेको छ । करिव तीन दशकसम्म राष्ट्र जनसेवाको सुरक्षार्थ तैनाथ समर्पित व्यक्तित्व दीर्घबहादुर चन्दले उपनाम “सुमन”बाट फुर्सदमा साहित्यको सेवा गरिरहेका थिए भने सेवानिवृत जीवनलाई झनै काव्यमय बनाइरहेका छन् । अझ भन्नुपर्दा दिनानुदिन साहित्य सिर्जनालाई आगोमय बनाइरहेका छन् । आगोको माध्यमद्वारा सप्तरङ्गी सुमन लघुकाव्यको दुनियाँमा तहलका नै मच्चाउदै आएका छन् । “सप्तरङ्गी सुमन” भित्रका काव्यहरू स्वादिष्ट छन्, त्यसैले यो महनीय छ । सात काव्यहरूको संग्रह भएकाले मननीय छ । लघुकाव्य उपविधाहरूमा आधारित भएकाले अवलोकनीय रहेको छ । आगो, शीत, सुसेली भनेका के हुन् भन्नेहरूका लागि अनुसन्धाननीय रहेको छ । सकारात्मक सोच र सन्देशमूलक काव्य भएकाले अनुकरणीय रहेको छ । अरूभन्दा फरक कृति भएकाले उदाहरणीय रहेको छ र नेपाली काव्य साहित्यको इतिहासमा संग्रहणीय कृतिको रूपमा रहेको छ । कृतिगत सफलता सहित साहित्यकार दीर्घ बहादुर चन्द ‘सुमन’को बाँकी जीवन लघुकाव्यमय बनिरहोस् 
– शुभकामना !
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष, स्रष्टा र समीक्षक समेत हुन्)

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update