Shittalpati
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ पुस्तकको चर्चा

‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ नामक पुस्तक हालै तानसेनमा लोकार्पण भएको छ । पाल्पाली साहित्यकारहरु राजेन्द्र गोपाल सिंह र पुष्कर अथक रेग्मीले वृहत् अनुसन्धान र अन्वेषण गरेर तयार पारेको पुस्तक र लेखकका बारेमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

पुस्तकको चर्चा गर्नु अघी लेखकहरुको परिचय गराउन सान्दर्भिक ठान्दछु । यस पुस्तकका लेखक राजेन्द्रगोपाल सिंह पाल्पाली साहित्यका अविश्रान्त अनुसन्धाता हुन् । प्रस्ट र प्रखर वक्ताको छवि बनाएका उनी राजनीतिमा पनि सक्रिय छन् । पाल्पा साहित्य समाजका पूर्व अध्यक्ष समेत रहेका राजेन्द्र एउटा सफल लेखक हुन् । उनी साहित्यिक मनहरूलाई जागरुक बनाइरहने एक लगनशील अभियन्ता पनि हुन् । तानसेन बजारमा बसोवास भए ता पनि राजेन्द्र साहित्यिक, सामुदायिक र सांस्कृतिक लगायतका विभिन्न कार्यक्रमका सिलसिलामा पाल्पाका गाउँ–गाउँमा पुगिरहन्छन् । त्यसै क्रममा उनले स्थानीय साहित्य, इतिहास र संस्कृतिका विविध आयामबारे सोधखोज एवं परिचर्चा गर्ने गर्दछन् । अर्का लेखक पुष्कर रेग्मीले त आफ्नो नामको पछाडी ‘अथक’ उपनाम जोडेर कर्मक्षेत्रमा कहिल्यै नथाक्ने स्वभावलाई सार्थक बनाएका छन् । उनी नयाँ र विलक्षण विचारको बीजारोपण गर्न बिछट्ट सिपालु छन् । पाल्पाली इतिहासका अविरल उत्खननकर्ता हुन् अथक । उनी पाल्पा साहित्य समाजका वर्तमान अध्यक्ष पनि हुन् । अथक पाल्पामा रहेका धेरै संघसंस्था र सामुदायिक गतिविधिमा सक्रिय छन् ।

प्रस्तुत पुस्तक पाल्पामा नेपाल भाषा एवं साहित्यको विगतलाई गहन खोजतलास र अनुसन्धान गरेर  तयार पारिएको शोधग्रन्थ हो । राजेन्द्र र पुष्करले छरिएर रहेका पुराना स्रष्टाहरूलाई एउटै पुस्तकरूपी मालामा उनेर अभिनन्दनीय काम गरेका छन् । पुस्तक छरितो आकारमा रहेकाले एउटै  बसाँइमा पढेर भ्याउन सकिन्छ ।

पाल्पामा नेपाल भाषाको खोज एवं अनुसन्धानलाई सम्मान र आत्मसात् गर्दै सात जना साहित्यप्रेमी व्यक्तिहरू मिलेर यो पुस्तक प्रकाशन गरेकमा छन्  । यो एउटा चाखलाग्दो पक्ष हो र यसबाट लेखक द्वयलाई ठूूलो प्रोत्साहन मिलेको छ । यसले साहित्यप्रेमी समुदायमा एउटा नयाँ किसिमको सन्देश प्रवाह गरेको विश्वास छ । कुनै पनि खोज, अनुसन्धान र अनुशीलन पूर्ण हुँदैन । ऐतिहासिक प्रसंगलाई लिएर लेखिएका विषयमा त झन् जहिल्यै पनि थप खोजीनीति, छानबिन र विवेचनाको गुञ्जाइस रहिरहन्छ । अनि त्यही गुञ्जाइसले नै नयाँ –नयाँ रहस्यको उद्घाटन तथा उजागर गर्न प्रेरणा दिन्छ । लेखकद्वय राजेन्द्र र पुष्करले यस क्षेत्रमा एउटा पवित्र सुरुवात गरेका छन् । यसमा अतिरिक्त अनुसन्धान गरेर पाल्पामा नेपाल भाषाको श्रीवृद्धिमा योगदान गरेका अन्यान्य पाल्पाली महानुभावहरूलाई जनमानस सामु प्रस्तुत गर्ने जिम्मेवारी अब साहित्यप्रेमी युवाको काँधमा आएको छ । पहिलो गोरेटो खन्न कठिन हुन्छ । त्यसलाई अनुगमन गर्दै फराकिलो लोकमार्ग बनाउन तुलनात्मकरूपमा सहज हुन्छ । यो सुन्दर गोरेटो खन्ने मुस्किल कार्य सम्पन्न गरेकोमा राजेन्द्र र पुष्करलाई हार्दिक बधाई र धन्यवाद छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update