Shittalpati
वरिष्ठ पत्रकार कार्कीको निधन

पाल्पा, वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित कार्कीको ७० वर्षको उमेरमा आफ्नै निवास पाल्पाको तानसेनस्थित धुर्वघाटमा निधन भएको हो ।

कार्कीको साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएको थियो । त्यसपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए ।

लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष रहेका कार्कीको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको पत्रकारहरुले जनाएका छन् । पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीले कार्की बेथिति, विसंगतिविरुद्ध र जनपक्षीय पत्रकारितामा खरो ढंगले उभिने साहसी र निडर पत्रकार भएको बताए । उनले सामाजिक सञ्जालमा दुख व्यक्त गर्दै भनेका छन् ‘लोकतान्त्रिक गणतन्त्रका लागि लडेका एक समर्पित निडर योद्धाको अवसान भएको छ ।’ तानसेनमा जन्मेर बुटवललाई केन्द्र बनाएर पत्रकारितामा जमेका कार्की राजधानी काठमाडौं बाहिर पहिलो पल्ट अफसेट प्रेसबाट दैनिक पत्रिका लुम्बिनी दैनिक प्रकाशन गर्ने सस्थापक सम्पादक रहेको भण्डारीले उल्लेख गरेका छन् ।

पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै उनले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका हुन । उनका एक श्रीमती दुुई छोरी र एक छोरा रहेका छन् । कान्छा छोराको केही वर्षअघि मृत्यु भएको थियो । कार्कीको शनिवार नै बुटवलको योगिकुटीस्थित मगरघाटमा अन्तिम दाहसंस्कार गरिदै छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update