Shittalpati
मुटुरोगबारे सावधानी अपनाऔं

प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिखको दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संसारका प्रायः सबै राष्ट्रमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन थालेका हुन् । आज पनि विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैं छ ।

आजको दिन भावना र मानवीयतालाई जोड्दै मुटुको महत्व, सही ख्याल नगर्दा स्वास्थ्यमा पर्ने असर, स्वस्थ्यमुटुका कारण हुने फाईदाका विषयमा व्यापक बहस र अन्तक्र्रिया गरी जागरण ल्याउँने कार्यलाई सहयोगी भूमिका निर्वाह गर्ने दिनका रुपमा नेपालका विभिन्न जिल्लामा सचेतना मूलक कार्यक्रम, बहस र छलफल तथा शिविर गरी मनाउने परम्परा छ । सन् २०१२ मा विश्वव्यापी रुपमा सहकार्य गर्दै सबै सरकार प्रमुखहरुको पहलमा नसर्ने रोगलाई कम गर्दै जाने साझा सहमतिका रुपमा विश्वव्यापी अवधारणा तयार भएसँगै सैद्धान्तिक, व्यावहारिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लाखौं अनि करोडौं मानिसका मुटु समस्याहरुको पहिचान गर्नुका साथै मुटुको सही हेरविचार गर्ने वातावरण निर्माणमा यो दिवस सहयोगी बन्न सकोस् भन्ने नै हो । विगतदेखि नै नेपालमा पनि मुटुको उपचार पद्धतिमा विशेष महत्व दिनुको कारण यही नै हो भन्ने मान्न सकिन्छ । तर पछिल्लो समय मुटुरोग स्वास्थ्य चुनौतिका रुपमा देखा पर्दै गएको छ । नेपालमा मात्रै होइन, विश्वभर नै मुटु रोगको अवस्था धेरै नै भयावह छ । विश्वमा करिब ४० प्रतिशत मानिसको मृत्यु मुटु रोगका कारण हुन्छ । खानपानको शैलीमा परिवर्तन, शारीरिक व्यायामको कमी, चुरोटखैनी सेवन, शरीरको मोटोपन, बढी तनाव एवं विभिन्न वातावरणीय परिर्वतनले गर्दा नेपालमा मुटुरोगको प्रकोप बढेर गएको हो । यो रोगबाट बच्नका लागि शारीरिक व्यायाम, मुटुको नियमित परीक्षण, सन्तुलित खाना खाने बानी बसाल्नुपर्छ । यसो गर्न सकियो भने धेरै हदसम्म मुटु रोग लाग्नबाट बच्न सकिन्छ । यसर्थ मुटु रोगबारे सबै जनाले सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update