Shittalpati
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता
पहिरोका कारण जोखिममा रहेको तानसेन कैलाशनगरस्थित देउरालीको सुकुुम्वासी । बस्ती तस्विरः जगदीश भट्टराई

पाल्पा, अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पर्दासम्म देशका विभिन्न्न स्थानामा भएका विपद्का घटनाबाट ६६ जनाको मृत्यु भएको हो ।

बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ, ललितपुर, भक्तपुरमा मात्र ३४ जनाको ज्यान गएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएको छ । बाढीपहिरोमा दर्जनौँ बेपत्ता छन् ।  प्रहरीका अनुसार हालसम्म ७९ जना बेपत्ता भएका छन् भने ३५ जना घाइते भएका छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ । देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

पाल्पामा दर्जन घरहरु जोखिममा
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण दर्जन घरहरु जोखिममा परेका छन् ।  विहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले जिल्लाको तानसेन नगरपालिका–५, कैलाशनगरस्थित देउरालीको सुकुम्वासी बस्तीमा १४, तानसेन–३ भगवतीटोलस्थित पुरानो पानी टंकी नजिकै र होलाङ्दी क्षेत्रमा तीन र तानसेन–बाँसटारी सडकखण्डमा तीन घर जोखिममा परेको प्रहरीले जनाएको छ । 

कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तीको तल्लो भाग सडक छेउबाट झरेको पहिरोले यहाँका १४ घरहरु जोखिममा परेका हुन् । जोखिम न्युनिकरणका लागि वडा कार्यालयको पहलमा प्लाष्टिक र त्रिपाल लगाइएको छ । घर जोखिममा रहेका स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जानुको साथै सडक अवरुद्ध भएका छन् । ठूलो स्केलमा झरेको पहिरोका कारण तानसेन–रिडी सडक खण्डको वनदेवी जनिकैको सडक समेत अवरुद्ध भएको थियो ।

विभिन्न सडक अवरुद्ध
यस्तै अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक अवरुद्ध बनेका छन् । पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएका छन् । पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो । यो समाचार तयार पार्दासम्म सडक खुलाउने प्रयास भइरहेको छ । शनिबार दिनभर पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग भएर पाल्पा लगायत स्याङ्जा, पोखरा, पर्वत, गुल्मी, अर्घाखाँची, बागलुङ जाने सवारीहरु बाटोमै रोकिएका छन् । 

यता अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्ड भने एकतर्फी सञ्चालमा आएको छ । तिनाउ गाउँपालिका–५, मस्यामको केराबारी नजिक खसेको पहिरो शनिबार बिहान पन्छाएपछि सडक सञ्चालनमा आएको हो । यस्तै प्रदेशको प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी खोलामा पहिरो झरेको छ । नौवहीनी गाउँपालिका––७ कालीमाटीस्थित मैरामारेदेखि बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ । अर्घाखाँचीस्थित पाणीनी गाउँपालिका–२ सालझण्डी ढोरपाटन सडक, गोरुसिङ्गे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update