Shittalpati
पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा

पाल्पा, एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल फिल्ड अफिस पाल्पाको समन्वयमा आइतबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।

नार्डेकले ग्लोबल फण्ड अन्तर्गत  सेभ द चिल्ड्रेनसँगको साझेदारीमा पाल्पामा सञ्चालन गरेको  प्रवासी र तिनका दम्पतीहरुको लागि लक्षित गरी एचआईभी/टिभी रोकथाम कार्यक्रमको सरोकारवालाहरुसँग बसेर गर्न सकिने समन्वय र हालसम्म गर्दै आएका गतिविधिहरुको उपलब्धीका विषयमा समीक्षा गरेको हो ।

कार्यक्रममा नार्डेक नेपालकी कार्यक्रम अधिकृत दीपा पाण्डेले संस्थाको परिचय, १ जनावरीदेखि ३१ जुुलाई २०२४ सम्ममा गरेका गतिविधि, उपलब्धी, चुनौती र आगामी दिनमा लिएका लक्ष्यका विषयमा जानकारी गराउँदै सतप्रशित उपलब्धी हासिल गरेको बताईन् । अधिकृत पाण्डेले सो अवधिमा ४ हजार ४ सय १० जना आप्रवासी तथा उनीहरुको दम्पतीमा व्यवहार परिवर्तनका लागि शिक्षा तथा भेटघाट गर्ने लक्ष्य राखेकोमा ५ हजार ६ सय ४९ जना अर्थात् १२८ प्रतिशतमा गरिएको, ५ हजार ५ सय ५७ को  एचआईभी परीक्षण गर्नुपर्ने लक्ष्य राखेकोमा ६ हजार ७ सय  ६२ अर्थात् १०४ प्रतिशतमा गरिएको,४ जना नयाँ संक्रमित पत्ता लगाउने र एआरटी उपचारमा संलग्न गराउनुु पर्नेमा १ जना अर्थात् १७ प्रतिशत उपलब्धी हासिल गरिएको बताईन् । यस्तै ५ हजार ५ सय ५७ जनाको क्षयरोग स्किनिङ्ग गर्नुपर्नेमा ५ हजार ८ सय ९९ जना अर्थात् १०६ प्रतिशतमा गर्न सफल भएको, २७ हजार ७ सय ८३ वटा कण्डम वितरण गर्नुपर्नेमा २८ हजार ६ सय ५५ वटा वितरण गरिएको, स्थानीय सरकार, स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी जोखिम क्षेत्र निर्धारण गरिएको, घुम्ती एचआइभी परीक्षण शिविर सञ्चालन गरिएको, १ सय ८४ प्रवासीहरुलाई सुरक्षित यात्रा किट वितरण गरिएको पनि उनले जानकारी गराईन् ।

कार्यक्रममा  सहयोग तथा हेरचाहमा प्रतिवद्धा समूहकी प्रमुख  अस्मिता भण्डारीले आफ्नो संस्थाले गरेका गतिविधिका बारेमा उल्लेख गरेकी थिइन् । उनले  सामुदायिक स्याहार केन्द्र, समुुदायमा आधारित हेरचाह तथा स्याहार कार्यक्रम, १८ वर्ष मुनिका एचआइभी संक्रमित बालबालिकाहरुका लागि सामाजिक सुरक्षा अनुदान भत्ता कार्यक्रम, भेदभाव र लाञ्छनासहित समुुदाय जस्ता कार्यक्रमहरु गर्दै आइएको बताइन् । प्रमुख भण्डारीले पाल्पामा ३ सय ५० जना एचआइभी संक्रमित रहेको समेत बताईन् । उनले १८ वर्ष मुनिका १७ जना एचआइभी संक्रमित बालबालिका रहेको पनि जानकारी गराइन् । यस्तै किट्स पाल्पाका जिल्ला संयोजक बाबुराम विश्वकर्माले ७ सय ३६ जना क्षयरोगका विरामी पत्ता लगाउने लक्ष्य भए पनि ४ सय १५ जना विरामी पत्ता लगाएको बताए । जसमा ३ सय ६४ जना विरामीले मात्र नियमित औषधि सेवन गर्दै आएको उनको भनाई छ । कार्यक्रममा मिसन अस्पतालका एआरटी प्रमुख सागर पौड्याल र लुुम्बिनी मेडिकल कलेजका ल्याव इन्चार्ज रविन्द्र शर्मा लगायतले एचआइभी र क्षयरोगका क्षेत्रमा आफुुहरुले गरेका उपलब्धिका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा एचआईभी एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रमअन्तर्गत प्रवासी कामदार र तिनका परिवार बीचमा सुरक्षित यौन व्यवहारलाई प्रोत्साहन गर्ने र यौन रोग तथा एचआईभी एड्स नियन्त्रण गर्ने उद्देश्यले नार्डेकले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका ज्ञवाली गैरेले चुुनौतिका रुपमा रहेको एचआईभी एड्स रोकथामका लागि संस्थाबाट भएका प्रयासहरु महत्वपूर्ण रहेको बताइन् । उनले भनिन् ‘सचेतना र जानकारीको अभावका कारण संक्रमण फैलिन सक्ने हुन्छ, त्यसका लागि नार्डेकले केही हदसम्म भए पनि रोक्नको लागि गरेका प्रयासहरु उपलब्धीमूलक नै छन् ।’ गैरेले स्थानीय तहहरुसँगको समन्वयमा समाजमा सचेतनाका कार्यक्रमहरुलाई थप प्रभावकारीताका साथ अगाडि बढाउनुुपर्ने बताईन् । स्वास्थ्य कार्यालयका निमित प्रमुख टुुक प्रसाद पोखरेलले एचआईभी संक्रमणको औषधि र उपचार निःशूल्क भए पनि जानकारी नहुँदा  र समाजमा अपहेलित हुने डरका कारण संक्रमितहरु  खुुलेर आउन नसकेको अवस्थामा नार्डेक जस्ता संस्थाहरुले चालेका प्रयासहरुका कारण केही सहज भएको बताए । स्वास्थ्य कार्यालयका एचआईभी/टिभी सम्पर्क व्यक्ति विश्वनाथ न्यौपानेले जिल्लाका स्थानीय सरकारहरुसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।

क्षयरोग निवारणसँग पाल्पाकी सभापति शोभा शाक्यले क्षयरोग निवारणका लागि आफुहरु सरकारी तथा गैरसरकारी निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताईन् । नार्डेक नेपालका उपाध्यक्ष गुुणानिधि शर्माले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिर्दै  एचआइभी संक्रमण र क्षयरोग नियन्त्रणका लागि जाँचसँगै जागरण अभियानमा आफुुहरु सक्रिय भएर लागेको बताए ।  स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुुक प्रसाद पोखरेलको अध्यक्षता, एचआईभी/टिभी सम्पर्क व्यक्ति विश्वनाथ न्यौपानेको स्वागत, नार्डेकका अनुुगमन तथा मूल्याङ्कन अधिकृत रामबहादुर कुंवरको सञ्चालनमा कार्यक्रम  भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update