Shittalpati
उद्धार र राहतमा ध्यान देऊ

विहिबारदेखि परेको अविरल वर्षासँगै निम्तिएको विपद्का कारण देशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट आइतबार विहानसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार बाढीपहिरो र डुबानमा परी काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५/५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ । यस्तै धनकुटा र सोलुखुम्बुमा २/२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको ज्यान गएको छ । २ हजार घर डुबानमा परेका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

वर्षाका कारण भएको क्षतिको यकिन विवरण अझै आइपुगेको छैन । तथापी जति क्षतिको विवरण प्राप्त भएको छ त्यसले नै जो कोहीलाई भावविह्वल बनाएको छ । विपद्ले धेरै मानिसहरूको विचल्ली भएको छ । ठाउँ–ठाउँमा विपत्तिमा परेकाहरूका कारुणिक चीत्कार र दर्दनाक गुहारहरूले सबैलाई दुखी बनाएको  छ । आँखै अगाडि मृत्युले मुखमा पुर्‍याएको कारुणिक दृश्य देख्दा सरकार लाचार बनेको प्रष्ट हुन्छ । सरकार हाम्रो साथमा छ भन्ने सान्त्वनाकारी भरोसा पनि जनतामा नहुनु आफैँमा कहालीलाग्दो अवस्था हो । एकातिर पर्याप्त साधनस्रोतको अभाव त छँदै छ अर्कोतिर सरकारी अकर्मण्यता पनि यसमा कम्ती जिम्मेवार छैन । कतै पहिरोले किचिएर, कतै बाढीमा परेर त कतै डुबेर ठूलो संख्यामा जनधनको क्षति हुँदा सरकारको तदारुकता चित्तबुझ्दो छैन । देशमा तीन तहका सरकार छन् । तर, तीन तहका सरकारले विपद्मा आफ्नो तदारुकता देखाउन सकेनन् । यो अत्यन्त दुखको कुरा हो । यतिबेला मृतकका परिवारलाई क्षतिपूर्ति, बेपत्ताहरूको खोजी, घाइतेहरुको उपचार, राहत उपलब्धता र सुरक्षित पुनःस्थापना आवश्यक छ । यसर्थ अब सरकारले तत्काल उद्धार र राहतका कामलाई प्राथमिकताका साथ आगाडि बढाउन ढिला गर्नु हुँदैन ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update