ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिएको हो । तर नेपाली समाजमा अझै पनि ज्येष्ठ नागरिकहरु अपहेलित हुनु पर्ने अवस्था छ । उनीहरु आफ्नै छोराछोरीहरुबाटै अपहेलित हुनुपर्ने अवस्था आउनु दुखद् हो । उमेर बढ्दै जांँदा अर्थात् बूढ्यौली अवस्थामा पुग्दा शारीरिक कमजोरी देखिनु,अशक्तता आउनु तथा सहाराको आवश्यकता पर्नु स्वाभाविक प्रक्रिया हो । यद्यपि, कतिपय अवस्थामा ज्येष्ठ नागरिक परिवार तथा समाजबाटै अपहेलित भएको, उपेक्षित भएको देखिन्छ । यसले गर्दा उनीहरू वृद्धाश्रमको सहारा खोजिरहेका हुन्छन्, पाटीपौवामा जीवन बिताउन बाध्य छन् । त्यतिमात्र होइन आफ्नै सन्तानले बृद्ध बुबाआमाप्रतिको कर्तव्य विर्सिएर बृद्धाश्रममा पुर्याएको पनि पाइन्छ ।
नेपालको संविधान २०७२ को धारा ४१ मा ‘ज्येष्ठ नागरिकको हक’ शीर्षकमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनेर उल्लेख गरेको छ तर त्यसले तोकेका अधिकार र संरक्षण गरेका हकहरु कार्यान्वयन हुन सकेका छैनन् । जसका कारण उनीहरु अहिले पनि सम्मानजनक रुपमा बाँच्न पाएका छैनन् । कुनै न कुनै किसिमबाट अपहेलना र तिरस्कृत हुनुपरेको छ । ज्येष्ठ नागरिकका लागि न त सरकारले कुनै ठोस नीति र कार्यक्रम बनाउन सकेको छ न त उनीहरुको आधारभूत आवश्यकतालाई कतैबाट सम्बोधन गर्न सकेको छ । आर्थिक दृष्टिकोणले निष्क्रिय ज्येष्ठ नागरिकलाई घरपरिवार र समाजले पनि बोझ कै रूपमा हेर्ने परम्परा अझै हट्न सकेको छैन । सामाजिक सुरक्षाको लागि हरेक वर्ष आर्थिक भार बढ्दै गएकाले सम्भवतः राज्यले पनि ज्येष्ठ नागरिकहरूलाई बोझ कै रूपमा हेरेको हुनुपर्छ । तर ज्येष्ठ नागरिकलाई बोझ नभई वरदानको रूपमा स्विकार्नु अपरिहार्य छ । कुनै पनि समाज त्यतिबेला अगाडि बढ्नसक्छ, जतिबेला उसले आफ्नो इतिहास र पुर्खाप्रति गर्व गर्नसक्छ ।
प्रकृतिको शाश्वत सत्य यही हो कि आजको शिशु भोलि बृद्ध हुन्छ । आज हामीले गर्ने सम्मान भोलिका हाम्रा सन्तानले हामीलाई गर्ने सम्मान हो, अर्थात् ज्येष्ठ नागरिकको सम्मान भनेको आफ्नै भविष्य सुरक्षित र सम्मानित बनाउनु हो । तसर्थ समाजका पथप्रदर्शकका रुपमा रहेका ज्येष्ठ नागरिकलाई सधै सम्मान गर्न सकियो भने मात्र ज्येष्ठ नागरिक मनाउनुको औचित्य रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्दछ ।