पाल्पा, पाल्पा छहराका ८१ वर्षीय टिकाबहादुर थापा (परिवर्तित नाम) बुटवलमा रहेको मानवसेवा आश्रममा बस्न थालेको ३ वर्ष भयो । उमेर र उर्जा हुञ्जेल खेतीकिसानी गरेरै छोरोछोरी हुर्काए पढाए र विहे समेत गरिदिए । तर उनी अहिले बुढेसकालमा भने एक्लिएका छन् ।
‘बुढ्यौलीले छोएपछि काम गर्न सकिएन, छोराबुहारी र श्रीमतीले समेत झिँजो मान्न थाले,’ उनले भने, ‘मलाई चित्त दुख्यो, आश्रममा साहारा नभएका बुढाबूढीहरुलाई राख्छन् भन्ने थाहा पाएँ र यता आएँ । अहिले आनन्द छ ।’ घर छोडेदेखि परिवारसँग उनको कुराकानी भएको छैन । कहिले काही छोराले फोन गरेर बोलाउने गरे पनि घर जान मनले नमान्ने थापा बताउँछन् । उनी भन्छन् ‘उतिबेला नै वास्ता गरेको भए पनि म यहाँ आउने थिइनँ ।’ ऊर्जामय जीवन सकिएर काम गर्न नसक्ने र परिवारको बेवास्ताको पात्र बन्नुपर्ने अवस्था टिकाबहादुरको मात्रै होइन, गुल्मी हस्तिचौरका ७८ वर्षीय लोकबहादुर खत्री पनि एक्लै जीवन विताउन थालेको ५ वर्ष भयो । उनका चार भाई छोरा, दुई छोरी र एक श्रीमति थिए । श्रीमती बितेको ६ वर्ष भयो । छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरी आफ्नो घर–घरमा छन्, उनी भने अहिले एक्लै जीवन विताइरहेका छन् । उमेर बढ्दै, शक्ति घट्दै गए पनि आफन्त पनि विस्तारै टाढिने गरेको उनको भोगाइ छ । ‘मैले ६ वटा बच्चा कसरी हुर्काएँ, बढाएँ, पढाएँ होला’, उनले विगत सम्झँदै भने, ‘अहिले छोराहरु विदेशमा छन्, बुहारीहरु छोराछोरी पठाउन भन्दै बजार गएका छन्, उनीहरु अहिलेसम्म घर फर्किएर आएका छैनन् । म एक्लै छु ।’ उनले वृद्धाभत्ताले तसोतसो जीवीका चलाउँदै आएका छन् । तानसेनकी मीना विकको पनि एक छोरी छन् । उनका श्रीमानको २ वर्ष अघि मृत्यु भयो । भएकी एक छोरीको विवाह भएको छ । विक उमेरले ६८ वर्षकी भएकी छन् । उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘सुरुका दिनमा कत्ति दुःख पाइयो । छोरीलाई तरकारी बेचेरै पढाएँ, अहिले उनी अर्काको घरमा छिन् म भने एक्लै दिन काटिरहेकी छु ।’ एकल महिलाले पाउने भत्ताले उनले अहिले जीवन गुजारिरहेकी छन् । थापा, खत्री, विक मात्र होइन पछिल्लो समय अधिकांस ज्येष्ठ नागरिकहरुको पिडा उस्तै छ । जवानीमा अनेक घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिक जीवनको उत्तराद्र्धमा एक्लो महसुस गर्दै आएका छन् ।
ज्येष्ठ नागरिकको अधिकारका बारेमा संविधानमा व्यवस्था गरिएको छ । तर प्रभावकारी कार्यान्वयन भने हुन सकिरहेको छैन । उनीहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उद्देश्यसाथ हरेक वर्ष नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको आवानमा सन् १९९० देखि अक्टोबर १ लाई संसारभर नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिएको हो । सोही अनुसार यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गए पनि समाजमा जेष्ठ नागरिकलाई अपमान गर्ने घट्ना भने बढिरहेका छन् । ज्येष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आर्थिक बेवास्ता, यौनजन्य दुव्र्यवहार, बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य हुनु प्रमुख समस्याका रूपमा देखिएको छ । सरकारले २०५१ सालदेखि मासिक ज्येष्ठ नागरिक भत्ता दिर्दै आएको छ । उनीहरुलाई परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ । तर सहज रुपमा कार्यान्वयन हुन सकिरहेको छैन् । सरकार स्वयंले ज्येष्ठ नागरिकलाई दिइएका सुविधा र सुरक्षा पर्याप्त छैन ।