Shittalpati
रामपुरमा चाडपर्व लक्षित अनुगमन

पाल्पा, नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीव्र दिइएको छ । दसैँ,तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्रका पसलहरुमा सोमबारदेखि अनुगमन थालिएको हो ।

उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय, भैरहवा, रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा, ईलाका प्रशासन कार्यालय रामपुर, ईलाका प्रहरी कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघ र पत्रकार सहितको संयुक्त टोलीले अनुगमन गरेको छ । टोलीले रजघरा, सदावर्त, बेझाँड, मटेरी, विजयपुर, किसानबारी लगायतका बजारका माछा, मासु पसल, डेरी उद्योग, किराना तथा खाद्यान्न पसल, मिठाई पसल लगाएतका ५८ वटा पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीले अनुगमनको क्रममा फेला परेका ६७ हजार ३ सय ७२  बराबरको म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।

 टोलीले खाद्यवस्तुको म्याद, भए नभएको, होटल तथा मिठाई पसलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन, खाद्यवस्तुमा रंग प्रयोगको अवस्था,मासु पसल तथा दुग्ध उद्योगको सरसफाईको अवस्था, नापतौल उपकरण ठिक भए नभएको, व्यवसायदर्ता सम्बन्धित निकायमा गरे नगरेको, अन्तःशुल्क तिरे नतिरेको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्य सूची नराखेको, व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत नगरेको, म्याद नाघेका पेन्ट, खाद्यवस्तु, पेयपदार्थ, मिठाईको पसलमा प्रयोग गर्न राखिएको रंग लगायतका अखाद्य वस्तु, सुर्तिजन्य पदार्थ, लगायतको सामाग्री जफत गरेको रामपुर नगरपालिका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले केही किराना पसलमा मासको कालो दालमा रंग मिसावट भएको पाईएकाले विक्री वितरणमा रोक लगाएको जानकारी दिए । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले उपभोक्ताहितका लागि निर्देशनालयले निरन्तर रुपमा बजार अनुगमन गर्दै आएको र चाडपर्वलाई लक्षित गरी अहिले अनुगमनको कार्यलाई तिव्रता दिएको बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले खाद्यवस्तु खरिद विक्री गर्दा व्यसायी र ग्राहक दुवैले म्याद भए नभएको, मिसावट भए नभएको राम्रोसँग यकिन गरेर मात्रै खरिद विक्री गर्नु पर्ने बताए । अनुगमन टोलीका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्वच्छ र स्वास्थ्यकर सामान उपभोग गर्न पाउनु उपभोक्ताको अधिकारलाई सुनिश्चितताका लागि अनुगमनलाई थप प्रभावकारी बनाउने बताए । पर्वहरुमा मात्र नभई अन्य समयमा पनि नियमित अनुगमन गरी मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गरिने थापाको  भनाई छ ।

रामपुर नगरपालिकाका उपप्रमुख थापाको संयोजकत्वमा गरिएको अनुगमनमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डित, उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय, भैरहवाका निमित्त निर्देशक ईश्वरचन्द्र अर्याल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाका प्रमुख नरेश श्रेष्ठ, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेशबहादुर कार्की, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर नेपाली, उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय, भैरहवाका अधिकृत नारायण न्यौपाने, जेदुराम पन्थी, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल, रामपुर नगरपालिका –५ का वडा सदस्य नरेन्द्र कुमार जर्घा, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, प्रहरी, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुको सरोकारवालाहरुको रहोबरमा रामपुर नगरपालिका कार्यालय परिसरमा नष्ट गरिएको छ ।  

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update