Shittalpati
तानसेनको दमकडामा ज्येष्ठ नागरिकको आँखा परीक्षणसँगै  लठ्ठी वितरण 

पाल्पा, तानसेन नगरपालिका –९ दमकडामा ज्येष्ठ नागरिकलाई लठ्ठी वितरणसँगै आँखा परीक्षण गरिएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा विश्व दृष्टि दिवसका अवसरमा मंगलबार ६८ वर्ष माथिका बा–आमालाई लठ्ठी वितरण गर्दै आँखा परीक्षण गरिदिएको हो ।

वडाभित्रका १ सय ६१ जना ज्येष्ठ नागरिकलाई सुरक्षा सहाराका लागि लठ्ठी वितरण र आँखा उपचार गरिएको केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेयले बताए । समाजसेवी पदम रानाले ६८ वर्ष माथिका नागरिकका लागि २ सय ५० वटा लठ्ठी वडाअध्यक्ष राजेशकुमार अर्याललाई र अर्यालले उक्त लठ्ठी ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेयलाई हस्तान्तरण गरेको समाजसेवी डेन्जिङ रायमाझीले जानकारी दिए । आँखा परीक्षण गर्दा १२ जनालाई मोतीविन्दु र ४ जनालाई मासु पलाएको देखिएकाले शल्यक्रियाका लागि रेफरल गरिएको नेपाल नेत्रज्योति संघका सचिव राजेन्द्र लिगलले बताए । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरेले ज्येष्ठ नागरिकहरूसँग ज्ञान, सिप तथा अनुभव रहेको र त्यो ज्ञानलाई समुदायमा हस्तान्तरण गर्नुपर्ने बताइन् । उनले ज्येष्ठ नागरिकको सुरक्षा र अधिकारका लागि यस्ता कार्यक्रम गरिरहनुपर्नेमा जोड दिइन् । तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिक स्रोत केन्द्रका रूपमा विकास गरी उनीहरूको क्षमतालाई राष्ट्र निर्माण र समाज रूपान्तरणमा लगाउन खोजिएको बताए । उनले ज्येष्ठ नागरिकको सहज जीवनयापन र सम्मानपूर्ण बाँच्न पाउने हकको सुनिश्चितताका लागि निरन्तर खबरदारीको खाँचो रहेको औंल्याए । नेपाल नेत्रज्योति संघ पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्माले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार र सहज पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए । बगनासकाली –२ पोखराथोकका समाजसेवी पदम रानाले ज्येष्ठ नागरिकहरूकै आशिर्वादले आफू यो स्थानमा आएको र उनीहरूलाई सहयोग र सहायता गर्न पाउँदा आभारी रहेको बताए । कार्यक्रममा ज्येष्ठ नागरिक वासु घिमिरे, श्याम कार्की लगायतले मञ्चको कार्यक्रमप्रति प्रसन्नता व्यक्त गरेका थिए । केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेयको अध्यक्षता, सचिव प्रेमराज पंगेनीको सञ्चालनमा कार्यक्रम भएको थियोे । 


 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update