अक्टोबर,२ लाई विश्व अहिंसा दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको हो । सोही अनुसार आजकै दिन यो दिवस मनाउने गरिएको छ । विश्व मानव इतिहास हिंसा र द्वन्द्वका कैयन् घटनाक्रमहरू सामना गर्दै यहाँसम्म आइपुगेको छ । अहिले पनि विश्वका विभिन्न स्थानमा यस्ताखालका हिंसात्मक द्वन्द्वका घटना भइरहेका छन् । हरेक कुराको प्राप्ति र जीतका लागि द्वन्द्व नै विकल्प त होइन यद्यपि मानिस यसैतर्फ बढी लागेका देखिन्छ । जबसम्म मानिसको दिमागबाट हिंसा हटाउन सकिन्न तबसम्म हिंसात्मक गतिविधिमा कमी आउँदैन । हिंसाको प्रतिफल प्रतिहिंसा नै हो । हिंसाद्वारा परिवर्तन गरिएको शासनसत्ता टिकाउ नहुने मात्रै होइन त्यसको अन्त्य पनि फेरी हिंसाद्वारा नै हुन्छ । यसरी हिंसाको श्रृंखलाले निरन्तरता पाइरहेको हुन्छ ।
द्वन्द्व, युद्ध राम्रो पक्ष होइन किनकि यसले धेरै जनधनको क्षति गर्छ । यसले मानवीय क्षतिमात्र नभइ आर्थिक अवस्थासमेत कमजोर बनाउँछ । यस कारण द्वन्द्व र युद्धबाट हुने क्षतिहरूलाई न्युनीकरण गर्न र मानव अस्तित्व संरक्षण गर्न अहिंसात्मक सामाजिक आन्दोलन र अहिंसात्मक आर्थिक क्रियाकलाप एउटा विकल्प हुन सक्छ । र यो आवश्यक पनि छ । वास्तवमा अहिलेको अवस्थामा अहिंसाको विषय जटिल बन्न गएको छ । मानवी हिंसा मात्रै नभएर पशुपंक्षी समेतको हिंसाका सन्दर्भमा हेर्दा अहिंसाको व्याख्या गर्न पक्कै पनि कठिन छ । अहिंसा भनेको हिंसाको अभावको अवस्था मात्र हो, हिंसाको अन्त्य होइन । हिंसारहित समाज हुनु भनेकै अहिंसा हो । हरेक समाज हिंसारहित बनाउनु सबै नागरिकको कर्तव्य हो । यसर्थ हरेक समाज हिंसारहित बनाउने दिशामा लाग्न सकियो भने मात्र अहिंसा दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।