Shittalpati
आजदेखि पितृ पक्ष समापन गरिँदै

पाल्पा, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष आजदेखि समापन गरिँदैछ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज पितृ पक्ष अर्थात स्रोह श्राद्ध समापन गर्न लागिएको हो । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिएको हो । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवंगत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष विसर्जन गर्न लागिएको हो । पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने जनविश्वास छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । दसैं, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामना जस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने पण्डितहरु बताउँछन्  हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल सुरु भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update