Shittalpati
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाको सराइमा रहेको माउण्ट भ्याली इङ्गलिस स्कूलले निधारमा टिका, हातमा दक्षिणा र कानमा जमरा लगाइँदिदै विद्यार्थीलाई दसैं छुट्टी दिएको छ । नेपालीहरुको महान चाड बडा दसैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी दसैं छुट्टी गरेको हो ।

दसैं, तिहारको अवसरमा विद्यालय विदा हुने भएपछि विद्यालयका प्रवन्ध निर्देशक अशेष भट्टराई, प्रिन्सिपल प्रेमराज खराल, शिक्षक शोभा भट्टराईले विद्यार्थी शिक्षक, कर्मचारीलाई टिका लगाइदिई आर्शिवाद दिएका छन् । विद्यार्थीहरुलाई चाडपर्वको महत्व र संस्कार बसाल्नका लागि टिका र जमरा लगाउने परम्परा बसालिएको प्रवन्ध निर्देशक भट्टराईले बताए । विद्यार्थी, शिक्षक, कर्मचारीहरुलाई दसैंको टिका जमरा लगाई दिदै उनले दसैं सबै नेपालीहरुको महान चाड भएकाले एक आपसमा मिलेर मनाउनुपर्नेमा जोड दिए ।  

प्रवन्ध निर्देशक भट्टराईले जाति, धर्म, लिङ्ग, पेशाबाट माथि उठेर यस्ता चाड पर्व मनाउनु पर्ने बताए । सबै खालका संस्कार संस्कृति र पर्वले एक अर्का बिचको एकता कायम हुने र सम्बन्ध प्रगाढ बनाउने उनको भनाई छ ।

प्रिन्सिपल खरालले विद्यार्थी तथा बालबालिकाहरुलाई विद्यालयबाटै दसैं पर्वको महशुस गराउँदा, उनीहरुमा खुसीयाली बढ्ने, जोस जागर भरिने, एक आपसमा रमाउने गरेको बताए । उनले भने ‘विद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थीहरुबिच नेपालमा मनाईने सबै धर्म, जातजातीका चाडपर्व एक आपसमा मिलेर मनाउने, एउटा धर्मको पर्व अर्काेलाई जानकारी गराउने उद्देश्यले विद्यालयमा सबै पर्व मनाउँदै आएका छौं ।’ सो कार्यक्रममा शिक्षक शोभा भट्टराईले नेपालमा मनाइने सबै खालका चाड पर्वले सबैमा खुसीयाली ल्याउने, एकआपसमा सुमधुर सम्बन्ध बनाउने भए पनि दसैं, तिहार, छठ तथा नेपाल सम्वत जस्ता पर्व नेपालीहरुको लागि विशेष पर्व रहेको बताइन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update