पाल्पा, बाढी–पहिरामा परी हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गएका बाढी पहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको हो । जसमा २५ जना बेपत्ता भएका छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको जनाएको छ । गृह मन्त्रालयले वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक बुधबार बिहानदेखि कार्यक्षेत्रमा खटिएका छन् ।
बाढीपहिरो प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लामा खटाइएको हो । कार्यदललाई वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।