Shittalpati
नवरात्रि प्रारम्भ र घटस्थापना

आजबाट नवरात्रि प्रारम्भ भएको छ । नवरात्रिको पहिलो दिन आज घटस्थापना हो । यस दिन देखि नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ ।  व्यावहारिक रूपमा सामाजिक चहलपहल, सजावट, नयाँ–नयाँ सरसामान, खसीबोका इत्यादिको किनबेच र देशविदेशका मानिसहरू घर फर्कनेको लस्कर इत्यादि भिन्न प्रकारको विशेष वातावरण देखिन्छ ।

पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

आजको दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

नवरात्रिको आफैमा महत्व रहेको छ । तर पनि यस समयमा हुने घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्व अझ बढिरहेको हुन्छ । दसैँ पर्व हाम्रो संस्कृति हो । यसलाई जोगाई राख्नु हामी सबैको कर्तव्य हो । पर्वलाई तडकभडक होइन र सभ्य र सुसंस्कृत रुपमा मनाऔं । सबैको घरदैलोमा आइपुगेको दसैंले सबैमा सद्बुद्धि देओस् र दसैं थप उत्साह र उमंगका साथ मनाउन सकियोस् ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update