Shittalpati
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

पाल्पा, नेपालीहरुको महान पर्व बडा दशै, शुभ दिपावली, नेपाल संवत, छठ पर्वहरुलाई लक्षित गरेर पाल्पामा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, सामुदायिक प्रहरी सेवा, यातयाता व्यवसायी कम्पनीहरुले संयुक्त रुपमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन् । जिल्लाका राजमार्ग क्षेत्रमा केन्द्रित गरेर तानसेनको बसपार्क, बर्तुङ्ग, रामपुर र दोभानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको र जिल्ला भित्रका सबै प्रहरी चौकीहरुमा पनि यात्रु सहयोग कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले शुभारम्भ गर्दै यात्रुको चाहाना अनुसार समयमै सुरक्षित गन्तव्यको लागि कक्ष सञ्चालन गरिएको बताए । सबै पक्षको सहयोग र सहकार्यबाट नै यात्रु सहायता कक्षलाई व्यवस्थित, सुरक्षित, भरपर्दाे रुपमा सञ्चालन गर्न सकिनेमा प्रजिअ काफ्लेले जोड दिए । यात्रुहरुले पनि आफु माथी परेको अन्याय, अत्याचारको गलत काम कारवाहीका सूचना प्रहरी समक्ष गुनासो गर्न, बढी भाडा, सवारी साधन, अत्याधिक भारवहन, तिव्र गति भएको अवस्थामा प्रहरीलाई खवर गर्न उनले अनुरोध गरे । स–सानो लापरवाही हेरचेक्रयाईका कारण नै ठूला ठूला घटना हुने भएकाले सही समयमा सही सूचना पाए जोखिमलाई न्युनिकरण गर्न सकिने प्रजिअ काफ्लले बताए । यात्रु सहायता कक्षको छड्के रुपमा विभिन्न पक्षबाट अनुगमन समेत गरिने उनले जोड दिए ।

कार्यक्रममा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले विगतमा बसपार्कवासी कै अनुरोधमा यात्रु सहायता कक्ष सञ्चालन भएकाले यसलाई व्यवस्थित रुपमा सञ्चालनको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । यात्रु ओहोर दोहोर गर्ने स्थान बसपार्कमा सिसि क्यामेराको व्यवस्था र सरसफाईमा वडा कार्यालयले ध्यान दिने वडा अध्यक्ष महर्जनले बताए । यात्रुहरुको सहजताको लागि जग्गाको व्यवस्थापन भए वडाले सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपानेले प्रहरीले सञ्चालन गरेको नागरिक सहायता कक्षलाई नागरिकस्तरबाट पनि सहयोग हुनुपर्ने सबै स्थानीय सरकारले आ–आफ्नो पालिका क्षेत्रमा पनि नागरिक सहायता कक्ष सञ्चालन गर्नुपर्ने, ग्रामीण सडकहरु तत्काल सुधार हुनुपर्ने,चालक सहचालकहरुलाई जिम्मेवार बनाउनु पर्नेमा कुरामा जोड दिए ।

श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का अध्यक्ष डिलबहादुर ढुङ्गानाले चाडपर्वमा बढी एकहोरो तर्फका यात्रुहरु बढी हुने हुँदा सवारी साधनको व्यवस्थापन गरी सुरक्षित यात्राको लागि कम्पनीले निरन्तर काम गर्दै आएको बताए । हरेक समयमा निजी रातो प्लेटका सवारी साधनहरु नै यात्रु वाहक सवारी साधनको रुपमा व्यापक प्रयोग भएकाले नियन्त्रणको लागि प्रहरी प्रशासनले सहयोग गर्नुपर्नेमा अध्यक्ष ढुङ्गानाले जोड दिए । कार्यक्रममा ३० बर्षदेखी तानसेनमा नागरिक ट्राफिक प्रहरी भई निःशुल्क सेवा गर्दै आएका टोपप्रसाद श्रेष्ठले अनुभवको आधारमा बनाएको यात्रु सुरक्षा कवजको बसपार्क व्यवस्थापन समितिका सचिव किरण चित्रकारले वाचन गरे । यात्रु, प्रहरी, सवारीधनी, चालक सहचालक, सरकारले गर्नुपर्ने जिम्मेवारी पालना गरेमा कुनै गुनासो नआउने कुरामा नागरिक ट्राफिक प्रहरी श्रेष्ठले जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्रबहादुर चन्दको अध्यक्षता र प्रहरी निरिक्षक सन्दिप बेल्वासेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update