Shittalpati
कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै पहिलो बन्यो स्वास्थ्य कार्यालय पाल्पा

पाल्पा, लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशभरीका १२ जिल्लाका कार्यालयले गर्ने कार्यसम्पादन मूूल्याङ्कनमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको  हो ।

स्वास्थ्य कार्यालय पाल्पा अघिल्लो वर्ष, २०७९/०८० मा पनि प्रदेशभरी उत्कृट अंकसहित प्रथम भएको थियो । यसैगरी कार्यसम्पादन मुल्याङ्कनमा स्वास्थ्य कार्यालय रोल्पा दोस्रो र स्वास्थ्य कार्यालय गुल्मी तेस्रो भएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १२ वटा कार्यालय, १४ वटा अस्पताल र १३ आर्युर्वेदिक स्वास्थ्य केन्द्रलाई कार्यसम्पादन मुल्याङ्कनमा समावेश गर्दै आएको छ ।

यसै गरी प्रदेशभरीका १४ वटा अस्पताल मध्यमा बर्दिया अस्पताल प्रथम भएको छ भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल द्धितिय र अर्घाखाँची अस्पताल तृतिय भएको छ । आयुर्वेदतर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बीनी आयुर्वेद चिकित्सालय द्धितिय र कपिलबस्तु आयुर्वेद चिकित्सालय तृतिय भएका छन् । जनतालाई दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टी लगायतका विषयबस्तुका सूचकहरुको आधारमा उत्कृष्ट स्वास्थ्य कार्यालय, अस्पताल र आर्युर्वेदिक स्वास्थ्य केन्द्र घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पालाई विगत दुई बर्षदेखी नै प्रदेशमा पहिलो तथा उत्कृष्ट कार्यालय बनाउन सफल भएको र आगामी बर्ष पनि पहिलो हुने गरी कार्यसम्पादनमा लागि परेको कार्यालयका बरिष्ठ तथ्याङ्क अधिकृत एवं निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समिक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कार वितरण गरे । स्वास्थ्यमन्त्री सारुले चालु आर्थिक बर्षमा सबै कार्यालय, अस्पताल आयूर्वेद स्वास्थ्य केन्द्र प्रथम हुने छु भन्ने भावनाका साथ काम गर्न आग्रह गरे । जनताको सेवा सुविधालाई ध्यानमा राख्दै सबैले गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यमन्त्री सारुले जोड दिए । लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र  १४ वटा अस्पताल छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update