आज विश्व अन्तर्राष्ट्रिय पशुु दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । जनावरहरूको संरक्षण गर्नुका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा यो दिवस मनाउने गरिन्छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीव जन्तुहरु हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् ।
पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलन बनाउन पनि जनावरको योगदान महत्वपूर्ण रहन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दु धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकका रूपमा पूजा गर्ने संस्कार रहेको छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनका रूपमा पुज्ने प्रचलन छ । तिहारमा विशेषगरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दु धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पुण्य दिने दानसँग तुलना गरिन्छ । पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरका रूपमा रहेको गाई लगायतका जनावर प्रतिको मानवीय व्यवहार भने क्रूर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको छ । अर्कोतर्फ विभिन्न पूजाआजामा बली दिने परम्पराले समेत पशुु संरक्षणमा सकस देखिएको छ । यो अत्यन्त दुखको कुरा हो ।
सांस्कृतिक,पर्यटन,जैविक विविधता,व्यपार लगायतका क्षेत्रसँग पशुपंक्षी जोडिएका छन् । पशु दिवसमा जनावरसँगको मानविय दायित्व र सम्बन्धलाई अन्र्तनिर्भरतासँग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनुुपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मीहरु एकै थलोमा भेला हुने गरेका छन् । यो आफैमा सकारात्मक पक्ष हो । विश्वका विभिन्न देशहरुले विभिन्न तरिकाबाट यो दिवस मनाउँदै आइरहेका छन् । दिवस जसरी मनाए पनि पशुको संरक्षण र उनीको सुधारात्मक स्थितिलाई बढाउन आवश्यक छ । यसो भयो भने मात्र दिवस मनाउनुको औचित्य रहन्छ ।