Shittalpati
अवश्य एक दिन देश बन्ने छ !

अथाहा स्रोत साधन र सम्भावनालाई व्यवास्ता गर्दै सुनको कचौरामा वैदेशिक सहयोग र अनुदानको भरमा देश निर्माणको सपना देखेका नेतृत्वकर्ता भएको देश नेपाल भन्दा फरक नपर्ला । हुन पनि राजनीतिक नेतृत्वले व्यवहार र कार्यशैलीलाई परिवर्तन नगर्दा देश विकासको बाधकको रुपमा संविधानका ती निर्जिव शब्दलाई दोष दिदैं साशन व्यवस्था र संविधान पटक–पटक परिवर्तनमा एक शतक अवधि खेरा फालेका नेतृत्वकर्ता र जनता बस्ने देश नेपाल बनेको देखिन्छ । साथमा आशा हैन् निराशा बढाउन तम्सने राजनीतिक नेतृत्व भएको देश ,यहि कारण आज भोली नेपाल बन्दैन् भन्ने आवाज बढ्दै गएको देखिन्छ । तर यहाँ देश एक दिन अवश्य बन्न सक्ने विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

कुनै पनि देश निर्माणको मुख्य आधार हो त्यस देशमा रहेको प्राकृतिक स्रोत साधन र परिचालनका लागि दक्ष र सीपयुक्त जनशक्ति । दक्ष र सीपयुक्त जनशक्ति प्राप्तिको आधार त्यस देशको सक्रिय जनसंख्याको अवस्था । सक्रिय जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन त्यस देशले अबलम्वन गरेको शैक्षिक प्रणालीले  भूमिका खेल्ने गर्दछ । आर्थिक विकास र आर्थिक समृद्धि प्राप्तिको आधार पनि यसलाई नै लिन सकिन्छ । पछिल्लो समय देशमा भएको राजनीतिक अस्थिरता, राजनीतिक हस्तक्षेप, हरेक क्षेत्रमा बढ्दै गइरहेको राजनीतिकरणका कारण अदक्ष ,अर्धदक्ष र दक्ष सबै प्रकारका जनशक्ति रोजगारी र सुनौलो भविष्य निर्माणको आसमा विदेशीने कहाली लाग्दो तथ्यांक जटिल समस्याको रुपमा रहेको देखिन्छ । विभिन्न उद्देश्य लिदै दैनिक १५०० देखि २००० को युवा जनशक्ति हवाई मार्गबाट विदेशिनु यसको ज्वालन्त उदाहरण हो । विश्वव्यापिकरण र देशहरुले अपनाएको खुला अर्थनीतिले पनि यस पक्षमा थप सहयोग पुर्‍याएको देखिन्छ । यसका साथै राज्यको नयाँ सरचनासँगै तीन तहको सरकारले कार्य गर्न थालेसँगै गाउँ घरमा विकास योजना र सुविधाहरु विस्तार हुँदै गएको देखिन्छ तर यसको विपरीत बस्तिहरु उजाड हुँदै गएका छन्, स्रोत साधनहरु प्रयोगहिन अवस्थामा रहेका छन्, उत्पादन योग्य कृषि भूमि बाँझिदै गएका छन्, गाउँ घरहरु सुनसान देखिन्छन्, घरहरु जेष्ठ नागरिक आश्रमस्थल जस्तै देखिन थालेका छन् । यसो किन भैरहेको छ ? यसको गम्भिर बहस, अनुसन्धान र विश्लेषण गरि समाधानको निष्कर्ष निकाली आगामी दशकमा समाजवाद उन्मुख समृद्ध नेपालको परिकल्पना साकार पार्दै हामीले कल्पना गरेको नयाँ नेपाल निर्माण धेरै टाढा देखिदैन् ।

राजाको साशन व्यवस्था मानिने पञ्चायतकालमा नै राजा महेन्द्रले जनतालाई आर्थिक समृद्धिको सपना बाडेका थिए रे तर करीव ६५ बर्षको अन्तरालमा जनताको साशन व्यवस्था मानिने गणतन्त्रसम्म आईपुग्दा पनि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिलाई भाषण,नारा र लक्ष्य बनाएता पनि आम जनताले यसको अनुभुति गर्न भने पाएको देखिदैन् । तर पनि  गणतान्त्रिक साशन व्यवस्था अभ्यासको करीब दुई दशक समय बेथित गर्दै गर्दा आमजनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने पूर्वाधारको निर्माण, शिक्षा , स्वास्थ्य, सामाजिक सुरक्षाका क्षेत्रहरुमा जनताले अनुभुती गर्ने गरी सेवा विस्तार भएको कुरामा दुईमत नरहला । विकास निर्माणले पनि तिव्र गति लिएको देखिन्छ तर आमजनता विशेषत युवा पुस्ताहरुमा भने निराशा बढ्दै गएकोे देखिन्छ । यसको  कारणका रुपमा अस्थिरता, अधिक सरकार परिवर्तन र रोजगारीको अभाव रहेको देखिन्छ । यस पक्षमा सुधार गरी सुखी र खुशी नेपाली बस्ने नेपाल निर्माणका चुनौती र आधार पहिचान गरी योजनातय गर्न जरुरी देखिन्छ ।

देश निर्माणमा देखिएका केहि चुनौतीहरु :
– सुशान स्थापित गरी विधिको साशनको सुरुवात गर्न ।
– भूपरिवेष्ठिता (दृई ठूला अर्थतन्त्र भएको देशहरुको चेपुवामा पर्नु ) 
– नेपाल भारत सिमामा नेपाली उत्पादनको निर्यातमा विभिन्न वहानामा अवरोध उत्पन्न हुनु ।
– वाÞय लगानीलाई आर्कर्षित गर्न नसक्नु ।
– राजनैतिक स्थिरता र स्थिर सरकार नहुनु ।
– राज्यको नयाँ संरचना र प्रदेश व्यवस्थापनमा थप सार्वजनिक खर्चमा वृद्धि ।
– सार्वजनीक ऋणको रकममा वृद्धि आम्दानीको ठूलो अंश ऋण व्याज भुक्तानीमा खर्च हुनु ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थ समुहको नेपालको नीति ,नियम निर्माणमा प्रभाव पर्नु ।
– औद्योगिकरण नहुनु भएका उद्योगहरु पनि बन्द हुने अवस्थामा सञ्चालन हुनु ।
– प्राकृतिक स्रोत साधनको परिचालनमा सरकारहरु बेखवर जस्तै देखिनु ।
– खेतीयोग्य भूमिलाई शहरीकरण र बस्ती हुनबाट जोगाउन ।
– भ्रष्टाचार,कालो बजारी संस्था कार्यलाई रोक्न ।
– सार्वजनिक ऋणको मात्रा घटाउँदै लैजान ।
– हरेक क्षेत्रमा अधिक राजनीतिकरण बढ्दै जानु ।

देश बन्ने केहि  आधारहरु :
प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपाल विश्वमै विविध पक्षले फरक पहिचान स्थापित गरी अटल रहेको कुरामा दुईमत रहँदैन् । यो देश निर्माणका आधारहरु प्रसस्त रहेका छन् त्यस मध्ये केहि आधारहरुलाई यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
 – जलस्रोतमा विश्व दोस्रो धनी देश ।
 –  ४२ हजार मेगावाट विद्युत उत्पादन गरी निर्यात गरी ध्जष्तभ मयििभच देशमा भित्र्याउन सकिने
– प्राकृति स्रोत साधनमा विविधता विदेशी पर्यटक भित्राई विदेशी मुद्रा आर्जन गर्न सकिने ।
– युरिनियम ,पेट्रोलियम पदार्थ जस्ता खनीज सम्पदाहरुको उत्खन्न,प्रयोग र निर्यात ।
– वन सम्पदाहरुको प्रयोग र निर्यात ।
– दैनिक औषतमा २ हजारका दरले वैदेशिक रोजगारमा गएका युवा शक्तिलाई दक्ष र सिप युक्त बनाई देश विकासमा लगाउन सकिने ।
– विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिने ।
– रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने प्रसस्त सम्भावना रहेको छ ।
– सार्वजनीक ,निजी र सहकारीबीच सहकार्य गरी आर्थिक उपलब्धी हासिल गर्न सकिने ।
– खेलकुद र मनोरञ्जन जस्ता क्षेत्रहरुमा लगानी विस्तार गरी जनतालाई सन्तुष्टि दिन ।
– कृषि क्षेत्र र किसानलाई विशेष प्राथमिकता दिई अर्थतन्त्रमा विशेष योगदान दिन सकिने ।
– गरिबी निवारणका लागि गरीव लक्षित व्यवहारिक र कार्यान्वयन योग्य योजना बनाउने ।
निष्कर्ष : रेमिटान्स, वैदेशिक ऋण र अनुदानकै भरमा देश बनाउने दिवा सपना त्यागौं, आवश्यकता र औचित्यका आधारमा योजना छनौट गरौं, वित्तीय अनुसाशनमा जोड दिउँ । यो देशमा केहि हुँदैन्, यहाँ बसेर काम छैन् भन्ने युवा पुस्तामा विकास भएको प्रवृति र निराशाको अन्त्यको खोजी गर्दै युवा जनशक्तिलाई देश भित्र नै बस्नका लागि आवश्यक बातावरण निर्माण गरी राष्ट्रप्रेमको भावना जागृत गराउँदै शिक्षा, कृषि,औद्योगिकरण, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउँदै कार्यान्वयन गर्न सकेमा अबको दशक भित्र हामीले कल्पना गरेको सुखी र खुशी नेपाली बस्ने समृद्ध र शान्त नेपालको निर्माण गर्न सकिने देखिन्छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update