Shittalpati
तानसेनमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

तानसेन, जिल्लाको तानसेन नगरपालिकास्थित अप्पू भिलेज नजिकै सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न पूर्व अभ्यास गरिएको हो ।

चाडपर्व र वर्षाका बेला बढी सवारी दुर्घटना भई ठूलो जनधनको क्षति हुने भएकाले त्यसलाई कम गर्न पूर्व तयारीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कृत्रिम अभ्यास गरेका थिए । अभ्यासमा तानसेन–रिडी सडकमा जिप र मोटरसाईकल दुर्घटना भएको हुन्छ । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिन्छ । उद्धारमा तीन वटै सुरक्षाकर्मीको सक्रियता रहन्छ ।

विपद् जोखिम कृत्रिम घटना अभ्यासको अवलोकन गर्न पुुगेकी जिल्ला समन्वय समिति पाल्पाकी उप्रमुख काशीका गैरैले विपद्सँगै सवारी दुर्घटना जति बेला पनि हुन सक्ने भएकाले त्यस्ता घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्था रहने बताइन् । उनले जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धित निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने उल्लेख गरिन् ।

दुुर्घटना भइहाले त्यसबाट तत्काल उद्दारमा जुट्न सक्ने बनाउन कृत्रिम अभ्यास महत्वपूर्ण हुने तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर आउँदैनन्, तर सडक दुर्घटना भने लापरबाहीले नै बढी हुने गरेका छन्, त्यसैले यस्ता अभ्यासको ठूूलो महत्व छ ।’ विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए  ।

‘चाडपर्वहरु नजिकिएका छन् । चाडपर्वको बेलमा गाडीहरु ब्यापक रुपमा सडकमा हिड्नुपर्ने हुन्छ । त्यस्तो समयमा कहिलकाँही दुर्घटना पनि हुन सक्छ । दुर्घटना सजिलो ठाउँमा मात्रै हुन्छ भन्ने छैन् ।’ प्रजिअ काफ्लेले भने,–‘दुर्घटना कुनै ठूूला अप्ठ्यारा भिरहरुमा पनि हुन्छ । त्यसलाई मध्यनजर गर्दै सडक दुर्घटना सम्बन्धि डेमो प्रर्दशन गरिएको हो ।’ जिल्लामा सुरक्षा निकायले विगतमा  पनि विपद् जोखिम व्यवस्थापनमा कृत्रिम अभ्यास  गर्दै आएको छ । आगालागी होस् वा, बाढी पहिरो जस्ता विपद्का घटनाहरुबाट क्षति कम गर्न सुरक्षा निकायले बेला बेलामा यस्ता अभ्यास गर्दै आएको पाइन्छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update