Shittalpati
शिक्षक दिवसको सन्दर्भ

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष अक्टोवर ५ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । यो आफैमा राम्रो हो । शिक्षण पेशाको मर्यादा र शिक्षकको सम्मान गर्ने प्रयोजनले विशेष दिनका रूपमा विश्वभर शिक्षक दिवस मनाउने गरिएको हो । ज्ञानको ज्योति झर्ने, विश्वमा दक्ष, असल जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सधै सम्मान गर्नुपर्दछ । तर पछिल्लो समय शिक्षकको योगदान, भूमिका र महत्वलाई बिर्सन वा ओझेलमा पार्न थालिएको छ । यसो हुनु दुखद् हो ।

नेपालमा यतिबेला शिक्षक व्यवस्थापनमा देखिएका जल्दाबल्दा मुद्दाहरु निकै चोटिला छन् । अस्थायी शिक्षकको सदाबहार आन्दोलन छदैछ । योग्य शिक्षकको नियुक्तिमा प्रश्न उठ्ने गरेको छ । विभिन्न हैसियत र सेवासुविधा प्राप्त गर्ने दर्जनभन्दा बढी थरिका शिक्षकको अस्तव्यस्त व्यवस्थापन एकातिर देखिन्छ भने अर्कोतिर विषयगत तालिम प्राप्त शिक्षक उपलब्धता र चरम राजनीतिकरण अहिले देखिएका मुद्दा हुन् । शिक्षकले पाउनुपर्ने जति कदर पाएका छैनन् । जसका कारण नैतिक आचरण र शिक्षा ग्रहणमा कमी हुँदै गएको छ । 

शिक्षकको योग्यता, क्षमता र दक्षता जाँच्ने कसी विद्यार्थी उपलब्धीस्तर नै हो । तर शैक्षिक, बौद्धिक वर्गलाई पञ्जामा राखेर जिउने आदतले देशमा शैक्षिक दमनको मनोवैज्ञानिक पीडा छ । यसो हुनु राम्रो होइन । आफ्नो ज्ञान, सीपको माध्यमले तटस्थ र स्वतन्त्ररुपमा आफ्ना विद्यार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुलाई सम्मानजनक रुपमा शिक्षण पेशामा आवद्ध गराउन सकियो भने मात्र हरेक वर्ष शिक्षक दिवस मनाउनुको सार्थकता रहन्छ । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update