Shittalpati
चाडपर्वसँगै सडक दुर्घटनाको जोखिम

यस वर्षको दसैंको रौनक सुरु भएको छ । जिल्ला भित्रने र बाहिरिने नागरिकको संख्या पनि दिनानुदिन बढ्दै जान थालेको छ । रोजगारी, अध्ययन तथा व्यापार व्यवसायका लागि घरभन्दा बाहिर रहेका यहाँका नागरिकहरू चाडपर्व नजिकिएसँगै धमाधम घर फर्कन थालेका छन् । खासगरी रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका श्रमिक तथा विद्यार्थीहरूको ठूलो संख्यामा दशैँ तिहार बिदामा घर फर्कने गर्दछन् । अन्य समयभन्दा चाडपर्वका बेला गाउँघर फर्किनेहरूको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा गाडी चलाउने र ट्राफिक नियमको उल्लंघन गर्ने जस्ता कारणले सडक दुर्घटनाको जोखिम हुने गर्दछ । कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडी मर्मत नगरी हतारमा स्पिडमा चलाउने र मदिरा सेवन गरी गाडी चलाउदाँ सवारी दुर्घटना हुने गरेका छन् ।

चाडबाडका बेला ओहोरदोहोर धेरै हुन्छ । जति धेरै बाक्लो ओहोरदोहोर उत्ति नै दुर्घटना हुन्छ । दसैंका बेलामात्र राजधानी उपत्यकाबाट २५ लाख हाराहारीले बाहिरको यात्रा गर्छन् । धेरै यात्रु एकैचोटि यात्रा गर्ने सडकहरू आफैंमा सुरक्षित छैनन् । साँघुरो राजमार्गहरू सानोतिनो पहिरो र बाढीले पनि भत्किन्छन् अनि सामान्य दुर्घटना हुँदा पनि गाडीहरू छेउ लगाउन हम्मे पर्ने अवस्था छ । चाडपर्वका बेलामा बर्सेनि सडक दुर्घटनाका खबर सार्वजनिक हुने गर्छ । यस पटक त ठाउँ–ठाउँका सडक भत्किएकै छ । बर्खाको बेला खाल्डाखुल्डी परेका सडकहरुको स्तरोन्नतिमा सरकारको उचित ध्यान पुगेको छैन । सडक जताततै खनिएका छन्, बनाइएका छन् तर भत्किएका खाल्डाखुल्डी परेका सडक मर्मतमा सरकारले ध्यान नदिंदा दुर्घटना बढ्दो छन् । मूल कुरा के हो भने क्षति भएका सडक स्तरन्नोतिमा तत्काल मर्मत तथा पुनर्निर्माण गर्न सरकारले ढिला गर्नु हुन्न । यसर्थ चाडपर्वको बेला हुन सक्ने सडक दुर्घटनाको जोखिमलाई कम गर्न सरकार गम्भीर हुन आवश्यक छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update