Shittalpati
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर

बुटवल, बुटवल उपमहानगरपालिकाले बुटवललाई चिटिक्क बनाउने अभियानलाई तिव्रता दिएको छ । चाडबाडलाई लक्षित गरी नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्न भन्दै उपमहानगरपालिकाले विशेष अभियान नै चलाएको हो ।

उसले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरुमा सरसफाइ गर्दै आएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, कात्तिक ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ गर्ने गरी काम गर्दै आएको छ । यस्तै, कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्री सडक, वडा क्षेत्र र सार्वजनिक स्थलहरूमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ । बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख खेलराज पाण्डेयले बताए । बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाइ तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको उनको भनाई छ । अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूलाई साथमा लिएर अगाडि बढेको प्रमुख पाण्डेयले बताए । अभियानमा सरिक हुन जनप्रतिनिधिहरूसँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयंसेवी संस्थाहरूलाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उनले नगर सफा रहेमात्रै नागरिक स्वस्थ रहने भएकाले घर–घरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने बताइन् । सरसफाईलाई नियमित रुपमा अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update