पाल्पा, केही वर्ष अगाडिसम्म पाल्पा र गुल्मीका ग्रामीण क्षेत्रमा जब दसैं शुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो । गाउँघरका मुलबाटो, गोरेटो खन्न गाउँभरीका मानिसहरु जमघट हुन्थे । दाउरा संकलन गर्थे । सेल रोटी पकाउन र मासुका लागि स्कुल बिदा भएपछि दाउरा संकलन गर्ने प्रचलन थियो । किशोरकिशोरी, युवायुवती, बालबालिका लिङ्गे पिङ् बनाउन व्यस्थ हुन्थे । तर आजकाल यी विरलै मात्र पाइन्छ । घर पोत्न थालेपछि गाउँमा दशैँको रौनक नै बेग्लै हुन्यो । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ । गाउँमा खर र ढुङ्गाले छाएका घरहरु विस्थापित हुँदै गएपछि रातोमाटो र सेतो कमेरोले घर पोत्ने चलन हराउँदै गएको हो ।
पाल्पा रिब्दीकोटकी ममता कुंवर विगतमा हरेक वर्ष दसैं सुरु हुनु अगावै घर लिपपोत गर्नका लागि नजिकैको माटो खानीमा रातो माटो र कमेरो लिन पुग्थिन । टाढाबाट ल्याएको रातो माटो, कमेरोले घर लिपपोत गर्ने गरेको स्मरण अहिले पनि उनको मानस्पटलमा ताजै छ । माटो, कमेरोले घर सिँगारेपछि बल्ल उनलाई दशैँ आएको मिठो आभास हुन्थ्यो । तर अहिले उनले घर लिपपोत गर्न छाडे्को ५ वर्ष भयो । अहिले घरमा सिमेन्ट लगाएकाले लिपपोत गर्नु नपर्ने उनले बताईन् । कुंवर मात्र हैन गुल्मी इस्मा २ की शोभा जिसीले पनि अहिले माटो र कमेरोले घर लिप्न छोडेको ३ वर्ष भयो । ‘पहिले दसैं तिहारको बेला माटो लिन टाढा टाढा सम्म जान्थ्यौं तर अहिले गाउँमा सबैले सजिलोका लागि घरमा प्लाष्टर गर्न थाले’ उनले भनिन् । दसैंका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकोमा त्यो हराउँदै गएको जिसीको भनाई छ । घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्गयाउने गरेको उनले बताइन् ।
गाउँ गाउँमा सिमेन्ट प्रयोग गरी नयाँ घर बनाएसँगै दसैंमा पुराना घर रातो माटो, कमेरोले रङ्गाउन छाडिएको छ । विगतमा दशैँ/तिहार सुरु हुनु अगावै घर रङ्गाउनका लागि रातो माटो, कमेरो लिनका लागि यहाँका स्थानीय समूहमा मिलेर टाढा–टाढासम्म पुग्थे । ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएका प्रायः हरेक घर रातो माटो, कमेरो, कालीमाटीले लिपपोत गरि चिटिक्क रङ्गाइन्थ्यो, सजाइन्थ्यो । तर पछिल्लो समय गाउँमा पनि सिमेन्ट प्रयोग गरी घर निर्माण गरिनुका साथै बजारमा विभिन्न थरीका र· पाइन थालेसँगै रातो माटो, कमेरोले घर रङ्गाउने चलन हराउँदै गएको हो ।