Shittalpati
प्रेस चौतारी पाल्पाले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट शितलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेलसहित ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने भएको छ । शाखाले विजय दशमी, शुभ दिपावली नेपाल संवत, छठ पर्वको अवसरमा शुभकामना आदानसँगै पुरस्कार घोषणा कार्यक्रम गरी पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक गरेको हो ।

प्रेस चौतारीले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ । पुरस्कार छनौट समितीका संयोजक एवं निवर्तमान अध्यक्ष राजेन्द्र लिगलले छनौट भएका पत्रकारहरुको नाम घोषणा गरे । तुल बहादुर अधिकारीले स्थापना गरेको प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण पोखरेल, ओम बहादुर घर्तिमगरले स्थापना गरेको भद्र बहादुर स्मृति पत्रकारिता पुरस्कारबाट नारायण न्यौपाने, राम बहादुर राउतले स्थापना गरेको तुलसा/तुल बहादुर स्मृति पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी, द्धारिका प्रसाद नेपालले स्थापना गरेको सिता देवी स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट विजय वौडेल, विष्णु बहादुर कार्कीले स्थापना गरेको गिता स्मृति पत्रकारिता पुरस्कारबाट दयाराज न्यौपाने, राजेश कुमार अर्यालले स्थापना गरेको रेडियो पत्रकारिता पुरस्कारबाट गुणवती के.सी., राजु प्रसाद श्रेष्ठले स्थापना गरेको शेष कुमारी/लोक कुमारी पत्रकारिता पुरस्कारबाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको पुतली देवी/रुपनारायण स्मृति पत्रकारिता पुरस्कारबाट शोभाकान्त पाठक पुरस्कृत हुने भएका छन् । पुरस्कृत पत्रकारहरुलाई भव्य कार्यक्रमको आयोजना गरी केहि दिन पछी पुरस्कार वितरण गर्ने छनौट समितिका संयोजक लिगलले बताए ।

प्रेस चौतारीका सचिवालय सदस्य रिमा सोमै सामुदायिक रेडियो प्रसारक संघ अकोराप लुम्बिनी प्रदेश उपाध्यक्ष र विजय वौडेल नेपाल दलित पत्रकार संघको जिल्ला अध्यक्षमा निर्वाचित भएकोमा प्रेस चौतारीले सम्मान समेत गरेको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सिनाले प्रेस चौतारी पाल्पाले आफ्ना सदस्यहरु सक्रिय, जुझारु बनाउदै पत्रकारिता क्षेत्रमा निरन्तर लाग्नको लागि हौसल्ला बढाउन पत्रकारहरुलाई पुरस्कृत गरेको बताए । कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्माले यस्तो सम्मान कार्यक्रमले काम गर्न हौसल्ला बढ्ने, जोस् जागर आउने, आत्मबल बलियो हुने भएकाले चौतारी पाल्पाले वार्षिक रुपमा पुरस्कृत कार्यक्रमले पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताको आगमनलाई सहयोग पुगेको बताए । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले अझै पनि खोज र अनुसन्धानमुलक पत्रकारिताको महत्व बढी नै रहेकाले खोजी समाचारमा सक्रिय हुन पत्रकारहरुलाई आग्रह गरे । काम गर्नेले नै आफ्नो पेशालाई सम्मानित बनाउनु पर्नेमा अध्यक्ष रानाले जोड दिए । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले खोजी पत्रकारिता हराउँदै गएको, पत्रकारितामा आचारसंहिता पालना नभएको बताए ।

कार्यक्रममा चौतारीका अध्यक्ष कृष्ण कार्कीले नयाँ पुस्तालाई हौसल्ला बढाउन, पुरानापुस्तालाई सम्मान गरी टिकाई राख्न, संस्थामा आवद्ध पत्रकारहरुको हौसल्ला बढाउन, गरिरहेको पेशाप्रति गर्व महशुस गराउन चौतारीले नियमित रुपमा विभिन्न दाताहरुको सहयोगमा पुरस्कार प्रदान गर्दै आएको बताए । चाडपर्वले सबैलाई खुसी बनाउने अध्यक्ष कार्कीले बताए । कार्यक्रममा चौतारीका केन्द्रीय अनुगमन विभागका सदस्य नवराज ज्ञवाली, पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रदेश सदस्य कृष्ण पोखरेल, प्रेस युनियन पाल्पाका निवर्तमान अध्यक्ष भरत शर्मा, प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नाल, संचारिका समुह पाल्पाकी सचिव रुपा थापा लगायतले पुरस्कृत पत्रकारलाई बधाई दिदै आउदै गरेको चाडपर्वले सबैलाई खुसी प्रदान गरोस् भनि शुभकामना व्यक्त गरेका थिए । चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update