Shittalpati
पर्यटनमा उत्साह

असोज महिना लागेसँगै पर्यटकहरुको आगमन बढेको छ । नेपालीहरुको महान पर्व दसैं, तिहार जस्ता पर्वहरु घर आगनमा आइरहेको बेला बाह्य पर्यटकहरुको आगमनले पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढेर गएको छ । कोराना महामारीको असर कम भएर निर्धक्क भएर घुम्ने वातावरण बनेसँगै बाह्य पर्यटकको आगमन बढ्दै गएको हो । घुम्न नेपाल आउने विदेशी पर्यटकको संख्याले नेपाली पर्यटन बजारमा उत्साह बढाउँदै गएको छ । पछिल्लो समय हवाई मार्ग र स्थलमार्ग भएर नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन् । केही दिन यता पाल्पाका पर्यटकीय स्थलहरुमा विदेशी पर्यटकहरुको चहलपहल बढ्दो देखिएको छ । यसले थोरै भए पनि जिल्लाका व्यवसायीहरुलाई उत्साह जगाएको छ ।

सेप्टेम्बरदेखि नोभेम्बर मध्यसम्मको समयलाई विदेशी पर्यटक आउने सिजन मानिन्छ । त्यसबाहेक अर्काे सिजन फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । त्यसैले पनि त्यो बिचमा पर्यटकहरुको आगमन बढेको पाइन्छ । यसलाई सकारात्मक मान्नुपर्छ । तर आएका पर्यटकहरुको बसाईलाई लम्ब्याउने दिशामा सम्बन्धित निकायको ध्यान जान सकेको  छैन् । यो भने अत्यन्त दुखको कुरा हो ।

पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटकीय पूर्वाधारको विकास निकै महत्वपूर्ण छ । नेपालले धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बर्द्धन गरी थप आकर्षक गन्तव्यको विकास गर्नुपर्छ । पर्यटकलाई सांस्कृतिक सम्पदासँग जोड्ने आकर्षक कार्यक्रम बनाउनुपर्छ । यसका साथै, स्थानीय उत्पादनलाई पर्यटकीय उपजका रूपमा प्रवर्द्धन गरी अग्र र पृष्ठ सम्बन्ध विकासमा जोड दिनुपर्छ । नेपालमा ग्रामीण पर्यटनको समेत निकै सम्भावना छ । यसका लागि पर्यटनबाट भएको आम्दानी यथोचित सुव्यवस्था, बाँडफाँट तथा वितरण गर्न सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्छ । यसका साथै, पर्यटन उद्योगमा पिछडिएका समुदाय, महिला, दलित तथा आदिवासी, जो प्रकृतिसँग प्रत्यक्ष जोडिएका छन्, तिनीहरूको संलग्नतालाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि क्षमता विकासका कार्यक्रम ल्याइनुपर्छ । यसरी पर्यटनका माध्यमबाट काम वा रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्न मद्दत पुग्छ । यसर्थ पर्यटकहरुको आगमन बढेर पर्यटनमा उत्साह थपे पनि पूर्वाधार निर्माणमा ध्यान दिइएन भने यसको कुनै अर्थ रहँदैन । त्यसैले पर्यटनको आगमनको अवसरलाई सदुपयोग गर्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update