Shittalpati
चाडपर्वको मुखमा सवारी दुर्घटना : पाँचको मृत्यु

पाल्पा, दसैं र तिहारजस्ता मुख्य चाडपर्व नजिकिदै जाँदा सडक दुर्घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडी मर्मत नगरी हतारमा स्पिडमा चलाउने र मदिरा सेवन गरी गाडी चलाउदाँ सवारी दुर्घटना हुने गरेका हुन् ।

पछिल्लो एकै दिन देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पश्चिम, हुम्ला र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । रूपन्देहीको सम्मरीमाई गाउँपालिका–१ मुडिलास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुडिलाबाट हडबडहवातर्फ जाँदै गरेको लु.३१ प ९९४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ हडबडहवाका २० वर्षीय सैलेश यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ ज्यामिरे चोकस्थित सडकमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । लु.१ ख ८४५३ नम्बरको माइक्रोबसले लु.७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही तिलोत्तमा नगरपालिका–६ दश नम्बर टोलका ३२ वर्षीय ऋिषि लम्तरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै हुम्लाको ताजाकोट गाउँपालिका–२ कर्णाली करिडोर अन्तर्गत पैमा खोलास्थित सडकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु.१ ज २३४३ नम्बरको बलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० राँझाका ४९ वर्षीया बिष्णु परियार र हुम्ला चंखेली गाउँपालिका–६ पुमाका कल बहादुर बुढाको छोरा ५ वर्षीय अविषेक बुढाको घटनास्थलमै मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडाचोकस्थित सडकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र. ०१–००८ प ४०७७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार २३ वर्षीय भुवन भट्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ । सबैका घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update