Shittalpati
महँगी नियन्त्रण गर

हिन्दुहरुको महानपर्व दसैं, तिहार नजिकिएसँगै बजारमा अचाक्ली महँगी बढेको छ । चाडपर्वको संघारमै विगतमा जस्तै नेपाली उपभोक्ताले अस्वाभाविक मूल्यवृद्धिको सामना गर्नु परेको छ । बजारमा महँगीले उपभोक्ताको ढाडमात्रै होइन करङ्ग नै सेक्ने अवस्था उत्पन्न भएको छ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक रूपमा बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ ।

मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभएपनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपालमा ब्यापारीहरूले महंगी बढाउन तिज, दसैं तिहार लगायतका चाडपर्व कुरेरै बस्ने भएकाले भारतबाट जति सस्तोमा सामान आएपनि अहिले महंगी घटने अवस्था छैन । सरकारी अनुगमन संयन्त्र समेत यही बेला मूकदर्शक बन्ने गरेको छ । भारतबाट ल्याउँदै भाउ बढेको वस्तुको भाउ बढाउनु स्वाभाविक भए पनि मौज्दात रहेकै वस्तुको भाउ बढाउने गरिएको छ । यसले बजारमा जति महँगी बढाए पनि कसैले केही गर्दैन भन्ने भावनाको विकास भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकार वा सम्बन्धित निकायले कुनै सक्रियता नदेखाउनु आफैमा दुःख र चिन्ताको विषय हो ।

राज्यको उपस्थिति हुँदाहुँदै पनि उचित बजार नियन्त्रण हुन नसकेपछि कालाबजारियाहरु हौसिएका छन् । जति मूल्य बढाए पनि नियन्त्रण गर्ने कोही छैन भन्ने भ्रम पालेर व्यापारीहरुले मूल्यमा एकाधिकार कायम गरेका छन् । जसले गर्दा आमउपभोक्ताको भान्सा महँगी बन्न पुगेको छ । यसरी आम नागरिकको भान्सामा महँगी बढ्दै गएका बेला सरकार र सरोकारवाला निकाय मुकदर्शक भएर बस्न कदापि मिल्दैन । यसर्थ आमनागरिकलाई सहजै चाडपर्व  मनाउन महँगी नियन्त्रणमा सरकारले तत्काल ठोस कदम चाल्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update