Shittalpati
विरामीलाई आर्थिक सहयोग

पाल्पा, नारायण युवा क्लव तानसेन र अमर नारायण कभर्डहल व्यवस्थापन समितिले विरामीलाई आर्थिक सहयोग गरेका छन् । क्लवका सदस्य रमेश रजाककी आमा कमला रजाकको श्वास्प्रश्वासमा समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लव र कभर्डहल समितिले रकम संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।

क्लव र कभर्डहलमा आवद्ध सदस्यहरुबाट १८ हजार रकम संकलन गरी रजाक परिवारलाई हस्तान्तरण गरिएको छ । क्लवले १३ हजार र कभर्डहलले ५ हजार रकम संकलन गरी मंगलबार रजाकको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । क्लवका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, क्लवका अध्यक्ष प्रविनराज शाक्य, कभर्डहल समितिका अध्यक्ष किशोर दर्शन बज्राचार्य, तानसेन –२ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ लगायतले रजाक परिवारलाई उक्त रकम हस्तान्तरण गरेको क्लवका सचिव विनायक महर्जनले जानकारी दिए ।

रकम हस्तान्तरण गर्दै काँग्रेस जिल्ला सभापति एवं क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले क्लव र कभर्डहल समितिले आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेकी कमलाको उपचारका लागि थोरै भए पनि रकम संकलन गरेर सहयोग र सद्भाव देखाएकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यको अन्य व्यक्ति, संघ संस्थाहरुले पनि अनुसरण गर्नुपर्ने बताए । उनले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि आफुले आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा पहल गरिदिने समेत उल्लेख गरे ।

क्लवका अध्यक्ष प्रविनराज शाक्यले नेपालीहरुको महान पर्व दसैं, तिहार आइरहेका बेला रजाक परिवार भने उपचारका लागि आर्थिक अभावमा छट्पटिरहेको देखेपछि थोरै भए पनि घाउमा मलम लगाउन क्लवका सदस्यहरुबाट रकम संकलन गरि सहयोग गरेको बताए । कमला रजाक लामो समयदेखि श्वास्प्रश्वासको समस्याबाट ग्रसित बन्दै आएकी छन् । उनलाई घरमा नियमित अक्सिजन दिदैं आइएको परिवारले जनाएको छ । आर्थिक अभावमा उपचार गराउन  नसकिएकाले परिवारले थप सहयोगको अपेक्षा समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update