Shittalpati
बजारमा भिड छ, व्यापार छैन

पाल्पा, पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।

पाल्पाका विभिन्न बजारका पसलसँगै बैंकहरूमा समेत ग्राहकको भीड लागेको छ । बजारका व्यवसायीलाई यतिबेला ग्राहकलाई सामान देखाउन फुर्सद छैन । तानसेनको बसपार्क, मखनटोल, सिल्खानटोल, विशालबजार, शीतलपाटी, नारायणस्थानमा किनमेल गर्नेको भीड छ । उता रामपुरका बजारमा समेत मानिसहरुको चहलपहल बढ्दो छ । बजारमा भिडभाड बढे पनि सोचेजस्तो व्यापार नभएको व्यापारीहरू बताउँछन् । मञ्जु कार्कीको सिल्खानटोलमा फेन्सी पसल छ । 

उनी भन्छिन्, ‘मानिसको चहलपहल छ तर व्यापार छैन् ।’ मानिसहरु आएर सामान हेर्ने तर नकिनिदिने गरेको उनले बताइन् । सिल्खानटोलमै कपडा पसल राखेका थानेश्वर बस्यालको पनि व्यापार उस्तै रहेको छ । उनको पसलमा पुग्दा महिलाहरु कपडाहरु हेर्दे थिए । आधा घण्टा समय लगाएर उनीहरुले कपडा हेरे तर मूल्य बढी भयो भन्दै न लिई फर्किए । हुलाकचोकमा बस्याल कस्मेटिक तथा कलेक्सन पसल सञ्चालन गर्दै आएका कृष्ण बस्यालको पनि व्यापार उस्तै रहेको छ । उनले पहिलेको तुलनामा व्यापार ५० प्रतिशत घटेको बताए । 

कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा अहिले पनि देखापरेको भाँडा व्यवसायी सुरेन्द्र शाक्यले बताए । ‘मान्छेहरूको चहलपहल जस्तो त देखिन्छ, तर व्यापार सोचेजस्तो छैन’ शाक्यले भने, ‘मान्छेहरू आउँछन् र हेरेर जान्छन् । किन्ने त आधा पनि छैनन् ।’ ग्राहकहरु पसलमा पुगे पनि  सामान महँगो हुँदा भाउ सोध्ने र सामान नलि फर्कने गरेका छन् । 

तानसेनको तेस्रो सडकको एक किराना पसलमा सामान हेर्दै गरेकी रैनादेवी छहराकी मनिषा आलेले बजारमा जता गए पनि समान महँगो मात्र रहेको बताईन् । अघिल्ला वर्षमा भन्दा यसवर्ष सामानको मूल्य अत्याधिक बढेको उनको भनाई छ । ‘प्रत्येक पसलमा सोध्दै हिड्यो सबै सामानको भाउ बढेको बढ्यैछ,’ आलेले थपिन्, ‘दसैंका लागि सामान किन्न आएको तर सामान लैजाउँ कि नलैजाउँ ? लैजाउ सामानको मूल्य छोइन नसक्नु छ, अड्कलेर ल्याएको पैसाले पुग्दैन, नलैजाउ भने दसैंका लागि नभई भएन ।’ किराना, फेन्सी र कस्मेटिक मात्र होइन, सबै सामानको मूल्य आकासिएको छ । दसैं नजिकिँदै गर्दा बजार अनुगमन भए पनि पसलैपिच्छे फरक मूल्य हुँदा उपभोक्ता ठगिने गरेका छन् । अर्को तर्फ कोभिड महामारीपछि देशको अर्थतन्त्र नै संकटमा पर्नु, उपभोक्ताहरुको आम्दानी समेत घट्दै जानु र बजारमा उपभोग्य सामानको मूल्य आकासिनुले समेत सामान किन्न खोजे पनि आमउपभोक्ताले खरिद गर्न नसक्दा व्यापार फष्टाउन सकेको छैन् ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update