पदम न्यौपाने
भनिन्छ इच्छा शक्ति भए संसरमा असम्भव केही पनि छैन् । यो पंक्तिकारको मान्यता पनि यही हो वा सामाजिक वा सार्वजनिक जीवन दर्शन पनि यही हो । तर कहिले काही भने हैन केही गरौं वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्ताव माथि देखाइने उदाशिनता वा सम्भव छैन् भन्ने सोच किन देखाइन्छ र कहाँबाट आउछ ? भन्ने जस्ता जिज्ञासाले आफ्नो मनमा स्थान पाइराख्छन् । त्यति मात्र होइन यस्ता कुराले यहाँका मानिसको मनमा कुनै प्रभाव नै पर्दैन वा यस्ता विचारले स्थान नै पाउँदैनन् किनकी यहाँ गरौं सम्भव छ भन्नेहरु भन्दा हुँदैन सम्भव छैन भन्ने मानसिकताले जकडिएका सोच राख्नेहरुको आवाज ठूलो छ नजिकका साथीहरुले मलाई निरन्तर सचेत गराइरहने पक्षहरु हुन् । अनि अर्को जिज्ञासा आउँछ आखिर समाज रुपान्तरका लागि पहिलो शर्त हो आफ्नै रुपान्तरण तर यसका लागि रोकेको छ कसले वा रोकको छ के ले वा रोकिन्छ के का लागि ?
यो पंक्तिकार न समाजशास्त्री हो न मानवशास्त्री वा न मनोविद् तसर्थ यि पक्षहरुको विश्लेषण गर्नका लागि त्यति योग्यता त राख्दैन तर व्यवहारिक दर्शनका हिसावले यी जिज्ञासा राख्ने हक भने राख्दछ । यसर्थ सैद्धान्तिक विश्लेषण भन्दा व्यवहारिक प्रस्तावका सन्दर्भमा यिनै प्रस्तावहरुको अस्विकार्यताका पृष्ठभूमिमा आखिर किन ? भन्ने दर्जनौ प्रस्ताव वा अवधारणा मध्ये निम्न तिनवटा मात्र प्रश्न वा जिज्ञासाको जवाफ सम्वद्ध सरोकारवालाहरुबाटै पाउने अपेक्षा गरिएको छ ।
पहिलो जिज्ञासा :
पाल्पाको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र योगदान गर्ने एउटा सम्पदा हो रानीघाट दरवार या रानीमहल । सम्पदा पर्यटनले त्यो सम्पदासँग जोडिएको इतिहास र संस्कृति पनि माग गर्दछ । यसर्थ यो दरबार वा महलको परिचय भनेको भौतिक संरचना मात्र होइन । यसको इतिहास र निर्माणकर्ताको व्यक्तिगत वा पारिवारिक जीवनसँग जोडिएको सम्पदा पनि भएकाले करिव डेढ बर्ष अगाडि यो पक्तिंकारकै सक्रियतामा दरवारको अस्थिपञ्जरमा प्राण भर्ने स्वयसेवी कार्यका लागि जिम्मेवारी प्रदान गर्न नगरपालिका प्रमुख लगायतको टोलीसँग प्रस्ताव गरिएको थियो । नगरप्रमुखको प्रस्ताव प्रति प्रदर्शन गरेको उत्साहीपनले प्रस्तावकलाई झनै उत्साही बनायो । तरपछि जानकारी बनायो नगरप्रमुखद्धारा प्रस्तावकको समूहलाई जिम्मेवारी प्रदान गर्ने बारे राखिएको प्रस्तावमा उहाँकै केही सहयात्रीहरुले हामी आफै गर्न सक्छौं भन्ने निष्कर्ष सुनाइयो भन्ने सुन्नमा आएको थियो । महलमा व्यवस्थिती देखिने, नयाँपन पाउने, त्यो समयको संस्कृतिको नजिकबाट अनुभव गर्न पाउने, महल निर्माणको भित्रि रहश्यको अनुभूति महशुस गर्न पाउने मात्र होइन सो स्थानकाबारेमा नयाँ मनोवैज्ञानीक प्रभावले अन्य नयाँ प्रडक्टहरु परिचयमा आकर्षण र आम्दानीमा छलाङ् आउने निश्चित थियो । तर यो डेढ वर्षको अवधिमा त्यहाँ सो सम्बन्धमा के–के गरियो देख्न पाइएको छैन । अनि जिज्ञासा आयो सो प्रस्तावका सन्दर्भमा कसले वा रोकेको छ के ले वा रोकिन्छ के का लागि ?
दोस्रो जिज्ञासा :
पर्यटन क्षेत्रमा सम्पदा पर्यटनमा जसरी आकर्षण बढेको छ त्यसरी नै अर्को आकर्षक क्षेत्र खेल पनि हो । पाल्पाको पर्यटनमा ठूलो योगदान र भूमिका निर्वाह गर्ने अर्को यो महत्वपूर्ण क्षेत्रको सम्भावना पनि त्यत्तिकै छ भनेर नै यही पंतिकार लगायतको विशेष चासोमा स्थानीय टुँडिखेल मैदानको व्यवस्थापनका सन्दर्भमा नगरपालिका समक्ष टुँडिखेल व्यवस्थापन प्रस्ताव गरिएको थियो । यो प्रस्ताव गर्नुको मुल उद्देश्य टुँडिखेलको व्यवस्थापनबाट पाल्पाका अन्य मैदान वा स्थानहरुमा खेल विकास र यही माध्यमबाट पर्यटन प्रवर्द्धनको रणनीतिक लक्ष्य राखिएको थियो । टुँडिखेलमा विशेषगरी फूटवल खेलका लागि सोही अनुरुपको मैदान तयार पार्ने हिसावले नयाँ घांँस लगाइएको छ वा रोपण गरिएको छ । अत्यन्त महगों मानिने यो घाँसको निरन्तर रेखदेख, स्याहार सुसार गरिएन भने लगाइनुको औचित्यपुष्टि हुन सक्दैन भनेर नै रोपणको अन्तिम चरण र हस्तान्तरण प्रक्रियामा नै यसको व्यवस्थापनको जिम्मेवारी सन्दर्भमा स्पष्ट हुनुपर्ने आवश्यकताले नगरपालिका समक्ष प्रस्ताव गरियो — यो मैदानले स्थानीय अर्थतन्त्रमा समेत चलायमान पार्ने हुनाले तानसेन र सेरोफेरोमा खेल क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान गर्ने गरी व्यवस्थापन रणनीति बनाउन आवश्यक भएकाले नगरपालिकाकै सक्रियतामा खेलकुद क्षेत्रकै संघहरुद्धारा गठित समूहलाई एउटा कार्यविधि अनूरुप हस्तान्तरण सम्झौता गर्न जरुरी छ । नगरप्रमुखको यसप्रतिको सकारात्मक धारणा सुन्नमा आएपछि जिल्ला फूटवल संघ पाल्पाको अगुवाइमा टुँडिखेल व्यवस्थापन सहमतिका लागि छलफल प्रक्रिया अगाडि बढाइयो । तर यो प्रस्तावमा छलफल गर्ने व्यवस्थापन हस्तान्तरण कार्यविधि निर्माणका लागि आयोजित भेला नै असफल बन्न पुग्यो र नपा प्रतिनिधि रहेको एउटा आन्तरिक टोलीले नै व्यवस्थापन गर्ने गरी समूह बनाइए छ । र यस समूहले के –के गर्यो र गरिरहेको भन्नेवारे सार्वजनिक जानकारी आइसकेको छैन यो समय पनि एक वर्ष भन्दा बढी भैसक्यो ।
यहाँ यो प्रस्तावको उद्देश्य बारे संक्षेपमा जानकारी गराउन जरुरी देखिन्छ । टुँडिखेलको व्यवस्थानबाट तानसेनमा निरन्तर विभिन्न विधा र प्रकृतिका प्रतियोगिता आयोजना गरिन्थ्यो । पाल्पाका विभिन्न स्थानमा भएका खेल मैदानको उपयोगका पृष्टभूमिमा परियोजना र कार्यक्रम बन्ने थिए । तानसेन वजारमा बढेको आर्थिक शिथिलतामा गतिल्याउने काम गर्दथ्यो । वातावरण र मौसम अनि पहुँचका हिसावले पाल्पाले प्राप्त गरेको कम्तीमा प्रदेशस्तरको खेलमैदानका लागि आवश्यक लगानी र आकषर्ण थपिने थियो । त्यति मात्र होइन टूँडिखेल र मेहल्धारा विचमा रहेको खोल्साको अधिकतम खेलसम्वद्ध उपयोग निति रणनीति बन्ने थियो र निजिक्षेत्रको लगानी हुने थियो । तर यो बहस नै हुन पाएन । अनि प्रश्न वा जिज्ञासा आउछ, सो प्रस्तावका सन्दर्भमा कसले वा रोकेको छ के ले वा रोकिन्छ के का लागि ? यसैगरी पाल्पामा नयाँ खेल पर्यटनको सम्भावना देखाएको विधाविच भलिवल पनि हो । नेपाल पर्यटन वोर्डले समेत सम्भावना देखाएको र स्थानीय नगरपालिका र बगनास गाउँपालिकाको संयुक्त संकल्प र प्रतिवद्धता रहेको यस बारे चर्चा नै गर्न छोडिएको छ । रानीमहल क्षेत्रमा यसका बारेमा सम्भवना भएर नै २ वटा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिएका हुन् । अहिलेसम्म संस्थागत प्रतिवद्धता जनाइएको यो खेलका बारेमा स्थानीय पालिकाका खेलकुद समितिहरुले छलफल चलाएका वा कार्यक्रम बनाएका छन् वा छैनन् सुन्नमा आएको देखिदैन । अनि प्रश्न वा जिज्ञासा आउछ, सो सफल परिक्षण भइसकेको प्रस्तावका सन्दर्भमा कसले वा रोकेको छ के ले वा रोकिन्छ के का लागि ?
तेश्रो जिज्ञासा :
पाल्पाको पर्यटनमा विशेषगरी तानसेनको पर्यटन विकास अवधारणा र रणनीति कार्यनीति एवं कार्यक्रमको प्रभाव रहन्छ नै । यो स्विकार गरे पनि नगरे पनि यथार्थ चाही यही नै हो । तानसेनमा फस्टाउने पर्यटनका आकर्षक विधाहरु इतिहास, संस्कृति, सम्पदा र प्रकृति सम्वद्ध पर्यटनको प्रत्यक्ष प्रभाव पाल्पामा पर्दछ । यसकारण पनि पाल्पाको पर्यटनको बहस हुँदा तानसेनको पर्यटनका बारेमा बढी चर्चा गर्ने गरिएको हुन्छ ।
यही मान्यता र अवधारणा अनुरुप विगतमा तानसेनले पर्यटनका लागि चलाएको चर्चा, गरिएका अध्ययनहरु, निर्माण गरिएका अवधारणा, स्थानीय नीति तथा कार्यक्रममा प्राथमिकताको प्रत्यक्ष प्रभाव अपेक्षाकृत हुन नसकेको स्विकार्यतालाई अब लुकाउनु पर्दैन । किनकी हिजोका पर्यटनका विधा र अहिलेका विधामा धेरै परिष्कृतपना र आविष्कार वा पहिचान भएका छन् । लुम्बिनी प्रदेश सरकारले पनि पाल्पालाई प्रदेशको एउटा भिन्न र आकर्षक गन्तव्यको सम्भावना देखेर प्राथमिकतामा राखेको छ भने संघयि सरकारद्धारा निकै वर्ष अगाडि देखिनै समयसमयमा चर्चा गर्दै आएको देखिन्छ तर ती दुवै अवसरमा तानसेनले बुझ्न र अवसरको उपयोगमा चुक्दै आएको छ । यो पनि लुकाएर नलुक्ने पक्ष हो । उल्लेखित पृष्ठभूमिमा यही पंक्तिकारले तानसेन नगरले अब पर्यटन प्रवद्र्धन र विकासका लागि एउटा बेग्लै परिचय भएको संस्थाको कल्पना गर्न जरुरी छ भन्ने आसयले पर्यटन बोर्डको गठनका लागि नगरप्रमुख, उपप्रमुख लगायत समक्ष प्रस्ताव गरिएको थियो । यसैबाट नयाँ गन्तव्यहरुको पहिचान, लगानी आकर्षण, सम्वद्ध सरोकार र श्रोतहरुसँगको समन्वय गरी दु्रततर र व्यवस्थित एवं अभियानमुखी पर्यटन प्रवद्र्धनमा जोड दिने गरी संरचनासहितको कार्यविधिको नमूनाका लागि समेत प्रस्ताव गरिएको थियो तर यसबारे पनि लामो समयसम्म पनि प्रगति सम्वन्धमा सार्वजनिक जानकारी प्राप्त हुन सकेको देखिदैन ।
यस्ता दर्जनौं प्रस्तावहरु माथी स्थानीय सरकारको सोच र अवधारणा सार्वजनिक हुन सकेको छैन् । उल्लेखित ३ वटा जिज्ञासाले मात्र पनि तानसेन र पाल्पाको अर्थतन्त्रमा पर्यटन अर्थतन्त्रको भूमिका प्रष्टिने छ तर नगर प्रमुख यी र यस्ता रचनात्मक प्रस्तावप्रति उत्साही र सकारात्मक देखिए पनि परिणाम भने आउन सकेको देखिदैन । अनि प्रश्न वा जिज्ञासा आउछ, सो समग्र स्थानीय अर्थतन्त्रमा समेत प्रभाव पर्ने प्रस्तावका सन्दर्भमा कसले रोकेको छ वा रोकिन्छ के का लागि ? (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)